३ आश्विन २०८३, शनिबार | September 19, 2026

दोहोरिएका तथा मृत्यु भएका मतदाताहरूको नामावली हटाउन नेकपा एमालेको माग



भैरहवा । नेकपा एमालेले मतदाता नामावली विवरणमा दोहोरिएका तथा मृत्यु भएकाको विवरण हटाउन माग गरेको छ ।

रुपन्देही जिल्लामा मतदाता नामावली दोहोरो हुनुका साथै मृत्यु भएकाहरूको नामावलीसमेत मतदाताका रूपमा रहेको भएको भन्दै ती नामावली हटाउन माग गर्दै नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय भैरहवामा ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एमाले बुटवल उपमहानगर पालिकाका अध्यक्ष किशन ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ठूलो संख्यामा मतदाता नामावली दोहोरिएको पाइएकोले सो सम्बन्धमा निर्वाचन कार्यालयलाई नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै त्यस्ता दोहोरिएका नामावली तत्काल हटाउन जोडदार माग गर्दछौँ ।’

हाम्रो नमुना अध्ययनले अहिलेसम्म बुटवलमा ८ सय २ जना, तिलोत्तमामा २ सय ९० जना, सैनामैनामा ३ सय ३८ जना र देवदहमा ९२ जनाको मतदाता नामावली दोहोरिएको देखाएको बताउँदै अध्यक्ष किशन ज्ञवालीले निर्वाचनको आधार स्रोत नै त्रुटिपूर्ण भएपछि निष्पक्ष निर्वाचन हुन सम्भव नभएको बताए ।

बुटवल, तिलोत्तमा र सैनामैनामा रुपन्देही र आफ्नो पहाडघर रहेको स्थानमा पनि मतदाता नामावली कायम रहेको र ती मतदाताहरु चुनावमा मत हाल्न पहाड गएको अवस्थामा एमाले उम्मेदवारलाई घाटा देखिने आंकलन गर्दै एमाले रुपन्देहीले दोहोरो नाम हटाउन सक्रियता देखाएको एमाले स्रोतले जनाएको छ । विशेष गरि विष्णु पौडेलको निर्वाचन क्षेत्रका मतदातालाई गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, अर्घाखाँचीमा टोप बहादुर रायमाझी लगायतका नेताहरुले ह्वीप लगाएर पहाड लैजान सक्ने आंकलन गर्दै आयोगमा ज्ञापन पत्र बुझाईएको स्रोतको दाबी छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो प्रवृत्तिले लोकतन्त्रको चीरहरण गर्ने निश्चित छ । त्यसैले संलग्न बमोजिम रहेका दोहोरिएका नाम हटाउन र अन्य पालीका र अन्तरपालिकामा रहेका दोहोरिएका नाम पहिचान गरी हटाउन हाम्रो पार्टीको तर्फबाट निर्वाचन आयोगलाई हार्दिक अनुरोध गर्दछौँ ।’

‘अतिरिक्त दुखद तथा असामयिक कारणले निधन भएका नागरिकको समेत नाम मतदाता नामावलीबाट हटेको छैन र त्यस्ता व्यक्तिको नाममा अरूले मतदान गरेको समेत भेटिएको हुनाले निर्वाचन कार्यालयबाट पालिकाका प्रत्येक वडामा कर्मचारी खटाई त्यस्ता मतदाताको नामावली समेत हटाउन’ विज्ञप्तिमा माग गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो नमुना अध्ययनको आधारमा बुटवलको मतदाता नामावलीमा नाम रहेका ९० वर्ष भन्दा माथिका व्यक्तिहरूको संख्या ४ सय ८५ भन्दा बढी रहेको छ । त्यसका अतिरिक्त विभिन्न वडाहरूबाट प्राप्त सूचनाका आधारमा २ सय ८५ जना व्यक्तिहरू अहिले नभएको प्रस्तुत तथ्यले देखाउँछ । यस विषयमा सत्य तथ्य छानबिन गरी तत्काल आवश्यक प्रक्रिया अगाडी बढाउन जरुरी देखिन्छ ।’

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीलाई मृत्यु भएका र दोहोरिएका व्यक्तिहरूको नामावलीको विवरण सहित विज्ञप्ति बुझाउँदै नेकपा एमाले बुटवल उपमहानगरपालिकाका अध्यक्ष किशन ज्ञवालीले निर्वाचनको प्रक्रियालाई स्वच्छ एवं निश्पक्षरुपमा सम्पन्न गर्नका लागि आवश्यक छानबिन गरी दोहोरिएका र मृत्यु भएका सम्पूर्ण व्यक्तिहरूको नामावली हटाउन जोडदार माग गरे ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले दोहोरीका नामावली हटाउने प्रतिबद्धता व्यक्त गर्दै मृत्यु भएकाहरूको नामावली हटाउनका लागि प्रक्रियामा जानु पर्ने भएकाले केही समय लाग्ने बताएका थिए । मृत्यु भएकाहरूको मतदाता नम्बर अनिवार्य,जन्म मिति र नागरिकता नं भिडेन भने हटाउन सकिन्न । १४ हजार डाटा आएको छ भण्डारीले भने, तीन कुरा मिले मात्रै सहज हुन्छ । हटाउनका लागि वडाबाट नै पर्याप्त डकुमेन्ट आउनुपर्छ ।

विज्ञप्ति बुझाउने कार्यक्रममा नेकपा एमाले बुटवल उप महानगर पालिकाका अध्यक्ष किशन ज्ञवाली, नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य तथा क्षत्रिय संयोजक बाबुराम पन्थी, जिल्ला सदस्य तथा नगर इन्चार्ज ऋषिराम पाण्डे, जिल्ला सदस्य तथा नगर सह इन्चार्ज यम पाण्डे, प्रदेश कमिटी सदस्य खिमानन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ७ : २३ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय