दार्चुला ।अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् ।
महाकाली नगरपालिका –१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, नौगाड–२ बस्ने ६८ वर्षीय मोहनराम पार्की, ३२ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्नाको शव भेटिएको छ । अझै पनि सात जना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पहिरोमा परेर महाकाली नगरपालिका–१ का धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना भने बेपत्ता छन् । उनीहरुको घर पहिरोले पुरै पुरिएको छ । यस्तै, महाकाली नगरपालिका–२ मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन । उनका श्रीमान् ६४ वर्षीय हर्कसिंह शाहुलाई भने घाइते अवस्थामा उद्दार गरिएको छ ।
पहिरोमा बेपत्ता भएका अन्य तीन जनाको अझै परिचय खुलेको छैन ।
घटनामा भएको धनजनको क्षतिको यकिन विवरण अझै आउन बाँकी छ । घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।
प्रतिक्रिया