काठमाडौं । देशभर हाल पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका केही हिमाली क्षेत्रमा आंशिक बदली हुनुका साथै तराईका भूभागमा तुवाँलो, हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ । यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचका अधिकांश स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
















प्रतिक्रिया