१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कहलिएको पाङको ज्योतिष विद्या पुस्तान्तरणमा समस्या



कुश्मा । “मेरो छोरीको अष्ट्रेलियाको भिसा लाग्न के गर्ला गुरु ?”, पोखराबाट छोरीसहित आएकी शर्मिला गुरुङले छेउमै रहेकी छोरीतर्फ हेर्दै थप सोधिन, “विवाह कुन उमेरमा गर्दा राम्रो होला, भनिदिनु है गुरु ।”

पाङको ज्योतिष विद्यालाई लिएर एउटा भनाइ प्रचलित छ, “न्याय हराए गोर्खा जानु, ज्योतिष विद्याका लागि पाङ जानु ।” आफ्नो र परिवारको भविष्य जान्न पोखराबाट पाङ आइपुग्नुभएकी गुरुङ जस्तै धेरैले चिना चिर्कटो हातमा समातेर आफ्नो पालो कुरेर बसिरहेकी थिइन ।

“तपाईको तीन भाई छोरा रैछन्, दुईवटा चाहिँ विदेश गएको देखाउँछ, एउटा कान्छो चाहिँ नेपालमै व्यापार केही गरेर बसेको भन्ने देखिन्छ”, चिना देखाएर छोराको भविष्य थाहा पाउन स्याङ्जाबाट आएकी एक महिलातर्फ हेर्दै ज्योतिष खगराज रिजालले भने, “कान्छाले विदेश जान धेरै मेहनत पनि गरेको देखिन्छ, अझै दुई सालजति विदेशको योग देखिएन ।”

आफ्नो र परिवारको भविष्यबारेमा ज्योतिष खगराजले भनेका धेरै कुरा मिलेपछि उनीहरु दङ्ग देखिन्थे । ८२ वर्षका रिजाल नाम चलेको ज्योतिषका रुपमा चिनिन्छन । अहिले पनि उनकाेमा भविष्यबारे जान्न कुश्मा, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, काठमाडौंलगायतका सहरबाट मान्छे आउने गर्छन् ।

एक समय पाङ ज्योतिष विद्याका लागि प्रख्यात थियो । भूत, भविष्य र वर्तमान बताउनसक्ने भएको हुँदा यहाँका ज्योतिषको महिमाबारे दरबार पनि जानकार थियो । ज्योतिष खगराजका छोरा रमाकान्तका अनुसार बाजेले दरबारको भविष्यवाणी मिलाएवापत उनलाई श्री ३ मोहनशम्शेरले चितवनको देबनगरमा २५ बिघा जमिन बिर्ता दिएका थिए ।

“श्री ३ मोहन शम्शेरकी श्रीमती सिकिस्त बिरामी परेपछि विदेश उपचार गर्न लैजाने भन्ने भएछ र त्यसभन्दाअघि चाहिँ ज्याोतिषबाट ग्रहगोचर जान्ने मोहन शम्शेरको चाहना भएछ”, उनले भने, “रमाकान्त हजुरबुवाले ग्रहगोचर हेर्दा बाँच्ने कुनै सम्भावना देखेन छन । सिधै बाँच्नुहुन्न भन्न अप्ठ्यारो पर्ने भएकाले उनले १५ दिनसम्म महाअनिष्ट भएको हुँदा विदेश लैजान हुँदैन भन्नु भएछ, नभन्दै मोहन शमशेरकी श्रीमतीको १५ औँ दिनमा मृत्यु भएछ ।”

पाङलाई ज्योतिष विद्याको राजधानीका रुपमा पनि अथ्र्याउने गरिन्छ । ज्योतिष अध्ययनका लागि देशभरका विद्यार्थी यहाँ आइपुग्ने गर्थे । बिहानबेलुका पाङको कुनाचौरमा बसेर ज्योतिष पढ्दा छिमेकी जिल्ला बागलुङसम्म पनि आवाज गुञ्जयमान हुने गरेको कुरा शास्त्री दोणराज उपाध्यायले बताए । “नेपालदेखि मात्र नभएर भारतबाट पनि विद्यार्थी आइपुग्थे”, ७४ वर्ष पुगेका उपाध्यायले भने, “हामी तीन÷चार सय जनाले एकैपटक पढ्दा पहरो नै घनकिन्थ्यो, गुञ्जयमान हुन्थ्यो । तर आज सुनसान र शून्यता छ । ऐतिहासिक पृष्ठभूमि नबुझ्दा ज्योतिष विद्या लोप हुने खतरामा पुगेको छ ।”

संस्कृतमा शास्त्री गर्नुभएका उपाध्यायले राज्य नै संस्कृत शिक्षाप्रति उदासिन भइदिँदा परम्परादेखि चलिआएको धर्म, संस्कृति र भाषा लोप हुने खतरामा रहेको बताए । “सस्कृत भाषाको उद्गमस्थल भएर पनि संस्कृत लोप भएको छ”, उपाध्यायले भने, “पश्चिमा देशको देखिसिकी र आधुनिक शिक्षाका नाममा मातृभाषालाई अपमान गर्ने काम भएको छ, जसका कारण ज्योतिष र संस्कृत भाषा पढ्ने विद्यार्थी पाउन मुस्किल बनेको छ ।”

पाङका अग्रज उमानन्द रिजालले १३ सय वर्षअघिदेखि नै पाङमा चिना, चिर्कटो, हस्तलेखा, आखतलगायत हेर्ने, हेराउने काम सुरु भएको बताए । “पाङका शोभाखर रिजालले १३ सय वर्षअघि लेखेको हस्तलिखित किताबमा आफूले अवन्ती (भारतको उज्जैन) देशमा पढेको भनी उल्लेख गर्नुभएको छ”, उनले भने, “त्यो हस्तलिखित पहिले मैसँग सुरक्षित थियो, पछि काठमाडौंमा ज्योतिष सम्मेलनका बेला तेजनाथ रिजालले मबाट लिएर जानुभएको हो ।” उनका अनुसार आफूसँग भएको हस्तलिखित प्रमाणलाई जित्नसक्ने प्रमाण कहीँकतैका ज्योतिषले देखाउन सकेका थिएनन् ।

पाका ज्योतिष खगराजले भविष्य मार्गदर्शन गर्ने मात्र होइन ज्योतिष विद्या पढाउने कामसमेत गर्थे । उनले नेपालदेखि भारतसम्म पुगेर ज्योतिष ज्ञान बाँड्ने गर्थे । “व्यक्तिका घरमा विद्यार्थी नअटाएर खेतमा, चौरमा बसेर पनि पढ्थे”, ६० वर्ष अघिको कुरा स्मरण गर्दै ज्योतिष रिजालले भने, “पूर्व दिङ्लादेखि पश्चिम दाङसम्मका विद्यार्थी पाङ आइपुग्थे ।”

अहिलेका केही ज्योतिषले भविष्य मार्गदर्शन गर्ने यो विद्यालाई मागीखाने भाँडो बनाएकोप्रति ज्योतिष रिजालको आक्रोस छ । “ल्यापटप बोकेर गल्लीमा बस्ने नाङ्ले ज्योतिषले ज्योतिष विद्यालाई नै विकृत बनाएका छन्”, उनले भने, “लगन, ग्रह, कुण्डलीका बारेमा पढेर ऋषिमतको अनुसार फलादेश गर्नुपर्छ ।”

रिजालले १६ वर्षबाट नै मानिसको भविष्य बताउन सुरु गरेका थिए । पुर्खादेखि ज्योतिष पेशा पुस्तान्तरण हुँदै उनीसम्म आइपुग्दा बाइसौँ पुस्ता भएको छ । “मेरो छोरामा आएर ज्योतिष कर्म टुङ्गिने भयो”, उनले चिन्ता मान्दै भने, “गाउँमा एउटा गुरुकूल स्थापना गर्न पाए हुन्थ्यो, म उमेरले बुढो पनि भएँ, जाँदै गर्दा मसँग भएको ज्ञान सबैमाझ बाँड्न पाए हुन्थ्यो ।” उनको छोरा रामप्रसाद रिजाल चाहिँ शिक्षण पेशामा आबद्ध छन ।

यो विद्यामा पारङ्गत धेरै ज्योतिष बसाइँसराइ गरी अन्यत्र गइसकेका छन् । गाउँमा रहेका पनि बुढ्यौलीसँगै कमजोर बन्दै गएका छन् । युवापुस्तामा यस पेशालाई लिएर खासै चासो र चिन्ता भेटिदैन । उनीहरुका सन्तान पनि विभिन्न पेशा र व्यवसाय अँगाल्दै आइरहेको अवस्था छ । ज्योतिष रिजालका शिक्षक छोरा रामप्रसादले आफूले बाउबाजेको परम्परालाई जोगाउन नसकेकामा दुःखी छन ।

“साथीभाइको सङ्गतका कारण आधुनिक शिक्षातर्फ आकर्षित भएछु”, उनले भने, “परम्परागत सम्पत्तिबाट टाढा हुँदै गएको कुरा पछि थहा पाएँ । यसलाई निरन्तरता दिन नसकेकामा पीडा हुने गरेको छ”, उनले ग्रहले पार्ने प्रभावका आधारमा मान्छेको भविष्यलाई मार्गदर्शन गर्ने पवित्र कार्यमा आफू संलग्न हुन नसेकेपनि छोरालाई चाहिँ ज्योतिष अध्ययन गराएको बताए । “मेरो छोराले बहुमुखी बन्नुपर्छ भनेर बिबिएस सकेर ज्योतिष विद्या पनि अध्ययन गरेको छ”, उनले भने, “छोराले ज्योतिष परम्परालाई निरन्तरता दिन्छ भन्नेमा विश्वस्त छु ।”

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ३८ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।