५ श्रावण २०८३, मंगलबार | July 22, 2026

थारु बस्तीमा दशैँको रौनकता



कञ्चनपुर । थारु गाउँमा दशैँको रौनकता छाएको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन् ।

विगतका दुई वर्ष कोरोना सङ्क्रमणका कारण थारु समुदायले दशैँलगायतका चाडपर्व सहजरुपमा मनाउन पाएका थिएनन् । विदेश गएका कोरोनाकै कारण फर्केका थिएनन् । कोरोनको कहरका कारण घर परिवारसँगै बसेर दशैँ मनाइएको थियो ।

सामूहिकरुपमा टीका थाप्न पाइएको थिएन । कोरोनाका सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दशैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दशैँ मनाइरहेको कृष्णपुर नगरपालिका-२ का दुर्गाप्रसाद चौधरीले बताए ।

“यस पटकको दशैँ निकै रमाइलो गरी मनाइँदै छ”, उनले भने, “विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौँ, निकै रमाइलो छ”, “दशैँका बेला थारु बस्तीमा नाचगान परम्परागत रुपमा चल्दै आएको छ”, उनले भने, “महिला पुरुष, युवायुवती सबैको सामूहिकरुपमा नाचगानमा सहभागिता रहेको छ, यस बेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन् ।”

सामूहिकरुपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पु¥याउने उनको भनाइ रहेको छ । दशैँका बेला नाच दशदेखि पन्ध्र दिनसम्म आयोजना गरिन्छ । अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दशैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ ।

दशैँका बेला थारु समुदायका घरमा ढिक्री, सुँगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु (मदिरा) सँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।

थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दशैँ पर्व मनाउने गरेका छन । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दशैँसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ ।

नृत्य गर्न अगाडि गुरुवाले पूजा पाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने गरेको दानसिंह दहितले बताए । उनका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरुलगायतको प्रयोग बढी हुने गरेको छ ।

दशैँका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका मुखिया (वडघर)बाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरु समुदायको जस्तो दशैँ९दशमी० देखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने रहेको छैन । थारु समुदायले दशैँको दिनमा मात्रै टीका थाप्ने गरेका छन् ।

पहिला चामलको पिठोको सेतो टीका दशैँका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीकासमेत लगाउने चलन चलेको छ ।

थारु समुदायको आज मुर्गा पुज्ने दिन

नवमीको दिन आज थारु समुदायले मुर्गा पुज्ना दिन (मुर्गा पुज्ने दिनं) का रुपमा मनाउँदै छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुज्ने कार्यमा लागेका छन् । मुर्गा पुज्नु अघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राख्नुपर्ने चरन चौधरीले सुनाए ।

उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी, आदि चढाउनुपर्दछ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाइ जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यस पछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ ।

“दुई वटा कुखुराको भाले दुई अलग अलग देवतालाई बलि चढाउनुपर्छ”, पहरु दहितले भने, “बलि चढाएपछि धुप, बेवरी, जमरा चढाइ दूध, पानी, घरैया दारुको धार चढाइ मुर्गा पुज्ने क्रम सकिन्छ ।” मुर्गा पुज्ने कार्य सकिए पछि घरका सबैसँगै सबेर सामूहिकरुपमा भोजन ग्रहण गर्दछन । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विर्षजन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन् । जसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ९ : २२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं