१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको विद्युत माग धान्ने प्रसारण र वितरण सञ्जाल बनाउँदै प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ ।

प्राधिकरणले नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा सन् २०५० सम्म बृद्धि हुन सक्ने विद्युतको सम्भावित माग प्रक्षेपण गरी उक्त मागलाई धान्ने गरी भरपर्दो र विश्वसनीय विद्युतीय भार बहन गर्ने उच्चस्तरका प्रसारण तथा वितरण लाइनतर्फका पूर्वाधार संरचना चरणबद्ध रुपमा बनाउने छ ।

नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा भइरहेको शहरीकरण र औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत भाग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्तिका लागि नेपालगञ्ज क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको हो ।

विद्युत आपूर्तिको तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण÷स्तरोन्नति र विस्तार गरिने छ । दीर्घकालीन मागलाई सम्बोधन गर्न र विद्युत खपत बढाउन ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण गरिने छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगञ्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसनहरुको स्तरोन्नति÷सुदृढीकरणका लागि तत्काल गर्नु पर्ने कामका बारेमा जानकारी लिएको छ ।

परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत मागलाई सम्बोधन गर्न बनाउनु पर्ने नयाँ लाइन तथा सवस्टेसनहरू निर्माणस्थल, रुटको पहिचानलगायतका विषयमा स्थलगत रुपमा अनुगमन गरेको थियो ।

प्राधिकरणले अब यहि आधारमा तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने योजना तयार गरी सोही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसनहरुको निर्माण अगाडि बढाउने छ ।

कार्यकारी निर्देशक घिसिङले उपभोक्ताहरुले बेहोर्दे आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन तथा सबस्टेसनको सदृढीकरण र विस्तार गरिने बताए । ३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङले प्रष्ट पारे ।

हाल चालू रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नधान्दा नेपालगञ्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताहरुले बेहोर्दै आएका छन् ।

प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ । अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरुको प्रस्ताव मूल्याङ्कन भइरहेको छ ।

उक्त सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगञ्जस्थित ३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाएर लाइन छिराउने योजना बनाएको छ । अहिले नेपालगञ्जमै रहेको अर्को ३३/११ केभी सबस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ । यसबाट नेपालगञ्ज क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ ।

‘भविश्यमा नेपालगञ्ज क्षेत्रमा हुने विद्युतको मागलाई सम्बोधन गर्न दाङको लमहीबाट राप्ती नदीको आसपासबाट बाँके, बर्दियाको मैनापोखरी हुँदै कैलालीको टीकापुरसम्म दक्षिण करिडो ४००/२२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिरहेका छौं, साथै भारतसँगको थप विद्युत व्यापारका लागि कोहलपुरबाट भारतको नानपारासम्म उच्च क्षमताको लाइन बनाउन लागेका छौं,यसबाट भोल्टेज सुधार हुने छ, भविश्यमा यो क्षेत्रमा हुने वस्ती विकास र खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति दिन सकिने छ, बढी भएको विद्युत निर्यात गर्न पूर्वाधारसमेत तयार हुने छ’ कार्यकारी निर्देशक घिसिङले भने ।

‘बझाङ, दार्चुलाका जलविद्युत र बाँकेको सौर्य आयोजनाबाट उत्पादित विद्युत चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा गत वर्षभन्दा यो वर्ष भोल्टेजको समस्या कम हुने छ ।’ अहिले त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि नजिकमा विद्युतगृहहरु नहुँदा खासगरी गर्मीयाममा भोल्टेजको समस्या रहेको छ ।

प्राधिकरणले भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरु निर्माण गर्ने योजना अगाडि बढाएको छ । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ ।

स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरुको निर्माण गरिने छ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरु रहने स्थान तय गर्ने कामहरु भइरहेको छ ।

कोहलपुरबाट कर्णाली प्रदेशको सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । सुर्खेतबाट दैलेखसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्न टेण्डरको प्रक्रियामा छ । दैलेखबाट जुम्लासम्म १३२ केभी लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । सबै लाइनहरु निर्माण सम्पन्न भएपछि कर्णाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत कोहलपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ११ : ५२ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा