१५ बैशाख २०८१, शनिबार | April 27, 2024

काभ्रेमा बालविवाह रोक्न सडक नाटक अभियान


१९ पुस २०७९, मंगलबार  

130
Shares

काभ्रेपलाञ्चोक । बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले हाल सडक नाटक अभियान थालेको छ ।

आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गरियो ।

त्यसैगरी सोमबार देरालीस्थित शारदा मावि र जनहित महाँकाल माविमा आदि÷इत्यादी नामक संस्थाले बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन ग¥यो । बालविवाहलाई न्यूनीकरण गर्न हाल गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा एकहप्ते सडक नाटक अभियान सञ्चालन गरेको हो । “बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान थालेका हौँ”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने । उनका अनुसार अभियानलाई आवश्यकतानुसार निरन्तरता दिने योजना बनाइएको छ ।

उक्त गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि ठूलो समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको थिङले बताए । उनले भने, “नाटकमा सानै उमेरमा विवाह गर्दा घर–व्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियान गरिएको छ ।” उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।

केही महिनाअघि काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जिल्लाको दक्षिणी भेगस्थित डाँडापारि क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाको भ्रमण गर्ने क्रममा बालविवाहका घटना भइरहेको पाइएको बताएका थिए । “हामीले त्यस क्षेत्रको भ्रमणका क्रममा विद्यालयमा कक्षा ७ सम्म विद्यार्थीको सङ्ख्या राम्रो नै हुने तर कक्षा ८ मा पुगेपछि बर्सेनि विद्यार्थीको सङ्ख्या न्यून हुने कारण खोज्दा बालविवाह रहेको पाएका थियौँ, अहिले न्यूनीकरणका लागि अभियान चलाइएकामा खुसी लागेको छ”, जोशीले भने ।

जोशी जिल्लाका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताउछन । उनले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको बताए ।

बितेका एक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरुको ‘उमेर’ पुगेको थिएन । देवीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत पाँच छात्रा र दुई छात्रले उमेर नपुग्दै विवाह गरेका हुन् ।

जिल्ला सदरमुकाम धुलिखेलमा अवस्थित उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ती विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटनाक्रमले देखाएको छ । अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउछन ।

शैक्षिकसत्र २०७८ मा स्थानीय देवीस्थान माविका सात विद्यार्थी ‘बालविवाह’ गरेको धुलिखेल–१ वडाध्यक्ष सन्तबहादुर तामाङले बताए । उनका अनुसार स्कुल अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने हालसम्म कुनै निकायमा उजुरी परेन । उनी बस्तीमा बालविवाह रोक्न अभिभावक, विद्यालय प्रशासन, स्थानीय सरकार तथा सम्बन्धित निकाय सबैको ध्यान जानुपर्ने बताउछन ।

“म निर्वाचित भएपछि आफ्नो वडाको वार्षिक योजनामा बालविवाह रोक्ने विभिन्न कार्यक्रम समावेश गरेको छु”, उनले भने । वडाध्यक्ष तामाङले बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बालावस्थामै विवाह हुने गरेको पाइएको बताए ।

विद्यालयका शिक्षक रामेश्वर पौडेलले उमेर नपुग्दै विवाह गरेकामध्ये केही विद्यार्थीले विद्यालय आउन छाडेका छन् भने केही विद्यालयमा अध्ययनका लागि आइरहेको बताए । उनका अनुसार चालु शैक्षिकसत्रको एक महिनामा भने कुनै विद्यार्थीले उमेर नपुग्दै विवाह गरेका छैनन् ।

वडाध्यक्ष तामाङले वडाकै योजनाअनुसार बालविवाह रोक्न अभिभावक र विद्यालयका शिक्षकसँग अन्तक्र्रिया गरी बालविवाहबाट पर्ने प्रभावबारेमा जानकारी दिइने बताए । “यस्तो घटना न्यूनीकरणका लागि घरमा अभिभावक र विद्यालयमा शिक्षकले विद्यार्थीको चालचलनसमेत बुझ्नुपर्ने हुन्छ, हामी सबै तरिका अपनाई बालविवाहजस्तो गम्भीर समस्या सुल्झाउन लाग्नेछौँ”, तामाङले भने ।

जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ । धुलिखेल नगर महिला तथा बालबालिका शाखाको पूजा काफ्लेले नगरमा चेतनामूलक कार्यक्रम गरिरहेको बताउछन ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बालविवाहविरुद्ध उजुरी नपरेसम्म केही गर्न नसकिने बताउछन । “विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ”, उनले भने ।

नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ४० बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा