काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या आएको भन्दै दुई घण्टा देखि अवरूद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको थियो । अहिले भने जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको ठाकुरले भने । २ घण्टा उडान अवरुद्ध हुँदा यात्रुको व्यवस्थापन अस्तब्यस्त हुनुका साथै विमानस्थलमा यात्रुको ठूलो भिड बढेको थियो । एक्कसी सर्भरमा बाहिरी मुलुकबाट हाई ट्राफिक आएका कारण सरकारी सर्भर डाउन भएको अध्यागमन विभागले जनाएको छ ।
उता राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक सर्भर एक्कासी ट्राफिक आउँदा सरकारी कार्यालयका समस्या आएको जानकारी दिएको छ । डेढ घन्टायता सबै सरकारी कार्यलयका जीओभी डटएनपी वेबसाइट डाउन भइरहेको र यसलाई अबको केही समयभित्रै रिकभर गरिने केन्द्रले जनाएको छ ।
केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ। कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ।
महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए। उनले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गरे।
प्रतिक्रिया