काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताएका छन ।
आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाए । उनले भने, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।”
उनले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताए । विद्युतीय सिँचाइ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीको भनाइ छ ।
“यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ” प्रधानमन्त्रीले भने, “नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ”, प्रधानमन्त्रीको कथन छ ।
प्रधानमन्त्रीले यसअघि अर्थतन्त्र सङ्कटमा भए पनि अहिले अर्थतन्त्रमा सुधार देखिएको बताए । “पर्यटक आउने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशमा रहेका लाखौंँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ । समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो”, उनले भने ।
प्रधानमन्त्री दाहालले उपेन्द्र यादव देशको नेता भएको भन्दै संसद्का लागि आवश्यक भएको बताए । “उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो । मधेशले मात्रै नभएर देशले जित्नु हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो । समग्र परिवर्तनका मुद्दाले जित्नु हो”, उनले भने ।
संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको उनले स्पष्ट पारे । उनले उपेन्द्र यादवलाई जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पार्न आग्रह गरे ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं-२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गेका थिए ।



















प्रतिक्रिया