पोखरा । गण्डकी प्रदेश सरकारको आयोजनामा भोलि बुधबार पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारहरूको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक बोलाएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले आज एक विज्ञप्ति जारी गरी पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको जानकारी गराएका हुन् । स्थगित गरिनुको कारण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
मुख्यमन्त्रीको यो सम्मेलन दोस्रोपटक हुन लागेको हो । यसअघि गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ भदौ २१ र २२ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको बैठकले नौबुँदे घोषणापत्र जारी गरेको थियो । भेलाले विभिन्न निर्णयहरू गरेको थियो। तर, निर्णय गरेको पाँच वर्ष हुन लाग्दासमेत भेलाले गरेका निर्णयहरू हालसम्म कार्यान्वयन भएका छैनन्।
प्रकाशित मिति :
९ जेष्ठ २०८०, मंगलबार ९ :
५७ बजे
प्रतिक्रिया