५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

देशभित्रै कृषिमा भविष्य देखेका धनकुमार



भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।

आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् । उनी करिब १८ वर्षदेखि उक्त कर्ममा लागेका हुन् । राईले तीन वर्ष अघि सदरमुकाम नजिकै टक्सारमा साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दैआएका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि यसलाई थप विस्तार गरेको उनको भनाइ छ ।

“विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ”, राईले भने, “वार्षिक रुपमा रु नौ लाखसम्मको तरकारी बिक्री गर्छु । त्यसमा कामदार, बीउबिजनलगायत खर्च कटाउँदा वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ ।”

कृषक राईले आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा विभिन्न बेमौसमी तरकारबाली लगाएको बताए । कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषक राईले बताए । अहिले महिनामा पाँच÷छ जनालाई रोजगारीसमेत दिएको उनको भनाइ छ ।

“आफ्नै ठाउँमा कृषि कर्म गर्न पाउँदा खुसी लाग्छ”, उनले भने, “विदेश जाने मोह त्यागेर लामो समयबाट यही पेसामा लागेको छु । यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट छु । केही मानिसहरुलाई रोजगारी पनि दिएको छु ।”

उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने कृषक राईको भनाइ छ । बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने गरेको उनले बताउनुभयो । “कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ”, उनले भने, “बजारको राम्रो व्यवस्था नहुँदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ ।”

नमूना कृषि फर्मका रुपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७९÷८० मा रु दुई लाख ८९ हजार अनुदान सहयोग पाएको राईले बताए । आफूले गरेको कृषि कर्मलाई राम्रो देखेर राज्यको आँखा परेकामा खुसी लागेको उनको भनाइ छ । “लामो समयबाट कृषिमा लागेको थिए”, उनले भने, “तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ । यो पटक भने राज्यले सहयोग गरेको छ । यसले मलाई थप हौसला मिलेको छ ।”

युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम, नमूना कृषि कार्यक्रमलगायत योजनाहरु सञ्चालन गरेर कृषकलाई आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए । राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि कृषिमा लाग्नेको सङ्ख्या बढेको उनको भनाइ छ । “व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई हामीले आवश्यक सहयोग गर्दै आएका छौँ”, उनले भने, “राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि कृषिमा लाग्नेको सङ्ख्या यो जिल्लामा बढेको अवस्था छ । यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ ।” रासस

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : ५१ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०