२५ श्रावण २०८३, सोमबार | August 11, 2026

सुदूरपश्चिममा गौराको रौनक



कञ्चनपुर सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईका कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरादेवीका रुपमा पूजा अर्चना गरिँदै आएको संस्कृतिका जानकार बताउँछन् । डोट्याली लोकसाहित्यमा विद्यावारिधि गरिरहेका महेन्द्रनगरका साहित्यकार कविराज भट्ट भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्व परम्परागत रीतिअनुसार मनाइने गरेको बताउँछन ।

विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब-धागो लगाउने चलन यस क्षेत्रमा रहेको छ । नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब-धागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिएको उनले बताए । “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास छ”, भट्टले भने, “गौरामा देउडा, ढुस्को धुमारी खेलेर रमाइलो गरिन्छ ।”

दुर्वाष्टमीका दिन ९आज० गौराको महत्वपूर्ण दिन हो । यसलाई अठेवाली पनि भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन् । सबै महिला जम्मा भई अठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन् । अठेवालीकै बीचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ । यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन् ।

त्यसपछि मङ्गल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ । पाँच अन्न बिरुडा (मास, गहत, गहुँ, कलौँ र गुरौँस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भित्र्याइन्छ । बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ ।

उक्त भिजाएका बिरुडा भएको ताउलीलाई टाउकामा राखी सगुन, फाग गायनसँगै महिलाले पानीको मुहानमा लगेर सगुन गायनसँगै पाँचपल्ट धुने प्रचलन छ । धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुनःफाग गायनसँगै घरमा भित्र्याउने चलन रहेको शास्त्री जनार्जन अवस्थी बताउँछन । सप्तमीको दिन कन्याले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाई गौरा घरमा ल्याउँछन् । गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ । एउटा काठको पिर्कामा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ ।

उनका अनुसार अठेवालीको दोस्रो दिनदेखि विभिन्न देवालयमा पुरुषको देउडा खेल सुरु हुन्छ । देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुस्को, धुमारी, ठाडोखेललगायत प्रस्तुत गरिन्छ । गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बोकेको पर्व हो ।

“गौरा नारीको विषेश पर्व हो, यो पर्वमा उपासना गरी नारीले गौरीको दुब-धागो लगाउँछन”, अवस्थीले भने, “जसरी ब्रतबन्धपछि जनै धारण गरी पुरुष यज्ञोपवित्र हुन्छन्, त्यसैगरी गौरामा नारी यज्ञोपवित्र हुन्छन् ।” देउडा गौराको अवसरमा रमाइलोका लागि खेलिने खेल भएको उनको भनाइ छ ।

सप्तमी र अष्टमीलाई गौराका विशेष दिनका रुपमा लिइने गरिन्छ । गौरा पर्व मनाउन भारत तथा अन्य मुलुकमा भएका सुदूरपश्चिमेली घर फर्किन्छन् । कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न सङ्घसंस्थाले गौरा पर्वका अवसरमा देउडा प्रतियोगितासमेत आयोजना गरेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  २ : १५ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय