काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा रहेको मतभेद हटाउन छलफल भएको छ । एमालेले सुन तस्करी प्रकरणमा सुरुदेखि नै छानबिन र कारवाहीको अधिकारसहित जाँचबुझ आयोग बनाउनुपर्ने माग राखेको छ । तर, सत्तारुढ दलहरुले भने सीआईबीले दिएको अनुसन्धानलाई अस्वीकार गर्नेगरी छानबिन गर्न नसकिने अडान राख्दै आएका छन् ।
दुईपक्षका अ-आफ्नै अडानका कारण असोज ५गते बन्ने भनेको जाँचबुझ आयोग अझै बन्न सकेको छैन । एमालेले यही निहुँमा आज बस्ने प्रतिनिधिसभा अवरुद्ध गर्ने तयारी गरेपछि प्रधानमन्त्रीले ओलीसहितका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । छलफलमा अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौला सहभागी भएका छन् ।
छलफलमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।
प्रतिक्रिया