७ मंसिर २०८३, सोमबार | November 23, 2026

इजरायलबाट २५३ जना नेपाली विद्यार्थी लिएर फर्कियो जहाज



काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल जानुभएको थियो । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।

शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।

हालसम्म तीन सय ५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

इजरायलमा हाल दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको र करिब चार हजार पाँच सय नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्याङ्क छ । इजरायलमा हाल अध्ययन गरिरहेका दुई सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन् ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।

इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो । हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो ।

परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने गरिने छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ५ : ३८ बजे

Your email address will not be published.

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख

कोप-३१ सम्पन्न : जलवायु सहकार्य जारी राख्न आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

बुटवल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै लुम्बिनी क्षेत्रमा नयाँ