१० श्रावण २०८३, आइतबार | July 26, 2026

परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ : प्रचण्ड



धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको ‘डिजाइन’ भएको बताए ।

अध्यक्ष प्रचण्डले भने, “यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ ।” देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा गठनपछि यसले दिइरहेको सन्देशबाट प्रदेशमा सकारात्मक तरङ्ग र जनतामा भरोसा देखिएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा जान पहल गरेको उल्लेख गर्दै उनले भने, “मिटर व्याजबाट पीडितलाई मुक्त गर्ने अभियानमा सफलता मिलेको, नक्कली भूटानी शरणार्थी समस्या, लालिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण अघि बढिरहेको छ, अरु पनि केही फायल छिट्टै खुल्दैछन् ।”

प्रधानमन्त्री प्रचण्डले देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियमकानुन पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको बताए । उनले भने, “निजामती सेवा ऐन सदनमा लैजानेबारेमा अन्तिम तयारी भइरहेको र शिक्षकसँग भएको सम्झौताबमोजिमको शिक्षा ऐन ल्याउन लागिएको छ ।”

कोशीमा बनेको तीन गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर कांग्रेसका सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र आफू बसेर यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल, हामीले कांग्रेसको एक जनाको मन्त्री बनाउने भनेकामा एमालेको मन्त्री थपिएको, यसलाई सच्याउँछौँ, पाँच वर्ष यो गठबन्धन जान्छ ।”

सभामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने, एकले अर्काको महत्त्व बुझ्ने, क्षमता भएका सबै वामपन्थीलाई एकै ठाउँमा गोलबन्ध गर्न यो मोर्चा गठन भएको बताए । रोजगारी, सुशासन र समृद्धिको यात्रालाई समाजवादी मोर्चाले प्राथमिकता दिएको बताउँदै उनले भने “चार दल मिलेर बनेको मोर्चाबाट कतिपयको सातो गएको छ ।”

गठबन्धनको विकल्प नभएको र गठबन्धन पाँच वर्ष नै जाने जिकीर गर्दै अध्यक्ष नेपालले भने, “हाम्रो यो मोर्चाबाट गठबन्धन दल नेपाली कांग्रेस आत्तिएको छैन, खुसी नै छ ।”

जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिएन भने यो व्यवस्था खतरामा पर्ने सन्देश जानसक्ने भन्दै सचेत हुनेबेला आएको बताए । संविधान जारी भएको आठ वर्ष भइसक्दासम्म जनताका समाजिक समस्या समाधान र रुपान्तरण हुन नसकेको भन्दै उनले भने, “कृषिको आधुनिकीकरण, औद्योगिकीकरण जलस्रोतको उपयोगमार्फत विकास र समृद्धिको यात्रालाई अघि बढाउनुपर्छ ।”

 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : १५ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि