१८ माघ २०८२, आइतबार | February 1, 2026

कर बक्यौता एक खर्ब १३ अर्ब, साढे पाँच हजार करदाता मुद्दा मामिलामा



काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।

बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा कूल रु ६५ अर्ब ३५ करोड ६७ लाख २२ हजार सात सय रहेको कर बक्यौता रकम एक वर्षमै रु ४७ अर्ब ७१ करोड ९१ लाख ४० हजार थपिएको छ । त्यस्तै, विभिन्न कर कार्यालयबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकनमा गएका करदाताको सङ्ख्या करिब साढे पाँच हजार देखिएको छ । गत असार मसान्तसम्म पाँच हजार चार सय ४३ करदाता मुद्दा मामिलामा गएका छन् । प्रशासकीय पुनरावलोकनमा गएको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम रु एक खर्ब ४५ अर्ब ७७ करोड ८९ लाख बराबर छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम रु एक खर्ब ३३ अर्ब ७१ करोड बराबर थियो ।

कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी देखिएका छन् । विभागको प्रतिवेदनअनुसार एक लाख ३६ हजार आठ सय २२ करदाताबाट रु ५९ अर्ब ४० करोड ८४ लाख ८६ हजार बराबर आयकर बक्यौता देखिएको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ एक लाख २९ हजार चार सय ८५ करदाताबाट रु ५१ अर्ब १२ करोड ६० लाख भ्याट असुली हुन बाँकी रहेको छ ।

अन्तः शुल्कतर्फ एक हजार पाँच सय पाँच करदाताबाट रु एक अर्ब ६१ करोड ५६ लाख ५७ हजार बराबर राजस्व असुली हुन सकेको छैन । अन्यतर्फ दुई हजार पाँच सय ७१ करदाताबाट रु ९२ करोड ५७ लाख १० हजार बराबर कर उठेको छैन ।

प्रशासकीय पुनरावलोकनलगायत न्यायिक निरुपणमा गएका करदाताको सङ्ख्या हेर्दा आयकरतर्फ सबैभन्दा धेरै दुई हजार आठ सय आठ करदाता अर्थात् रु एक खर्ब २७ अर्ब ६९ करोड ४५ लाख ४९ हजार बराबर कर रकम देखिन्छ । त्यस्तै, भ्याटतर्फ रु १४ अर्ब ६४ करोड ११ लाख १० हजार बराबर कर रकम रहेका दुई हजार तीन सय १८ करदाता मुद्दा मामिलामा गएका छन् । अन्तःशुल्कतर्फ एक सय ६४ करदाताको रु तीन अर्ब १३ करोड ७५ लाख ६८ हजार बराबर कर रकम न्यायिक अपिलका लागि गएको छ ।

त्यस्तै, गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयमा रु ७६ अर्ब एक करोड ४२ लाख बराबर बेरुजु देखिएको छ । यसरी सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको सङ्ख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ ।

आन्तरिक राजस्व विभागमार्फत गत आव २०७९र८० मा रु छ खर्ब २६ अर्ब ६१ करोड कर असुली गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ७६ दशमलव ५७ प्रतिशत अर्थात् रु चार खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै उठेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : १८ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३