काठमाडौं। संसदीय समितिले एनसेलको सेयर खरिद बिक्रीको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी लिने भएको छ ।
शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकले आउँदो सोमबार प्रधानमन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी लिने निर्णय गरेको हो ।
सोमबार नै प्रधानमन्त्री प्रचण्डसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको विषयमा पनि छलफल गर्ने निर्णय गरेको बैठकले प्रधानसेनापति प्रभुराम शर्मालाई आगामी बुधबार काठमाडौं–तराई÷मधेस द्रुत मार्गको कार्य प्रगतिको विषयमा जानकारी लिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा सो कम्पनीको शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको आशङ्का गर्दै यससम्बन्धमा सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने उनले बताए ।
बैठकमा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ र भरथेग भएको आशङ्का गरे. । उनले सरकारद्वारा गठित समितिले गरेको छानबिनलाई समितिले पनि नजिकबाट नियाल्नुपर्ने बताए ।
सांसद प्रकाश अधिकारीले नेपालमा लगानी गर्ने विदेशी लगानीको कम्पनीले नेपालको ऐन कानुन पालना गर्नुपर्नेमा जोड दिँदै एनसेलको खरिदबिक्री सम्बन्धमा समितिले सरकारसँग जवाफ माग गर्नुपर्ने गरे । सांसद उपेन्द्र यादवले मुलुकमा कुशासन बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै सुशासन कायम गर्न समितिले सरकारलाई स्पष्ट निर्देशन दिनुपर्ने बताए ।
सांसद सरिता प्रसाईले एनसेलको शेयर किनबेचका सम्बन्धमा नियामक निकायले थाहा पाइन भन्न नपाउने उल्लेख गर्दै नेपाल दूरसञ्चार प्राधिकरसँग जवाफ माग गर्नुपर्ने बताइन । सांसद राजेन्द्र पाण्डेले उक्त कम्पनीको शेयर बिक्री नभई बिक्रीको ‘नाटक’ गरिएको तथा सरकारको स्वामित्वमा आउने लागेका बेला चलखेल गरिएको दाबी गरे ।
सांसद रघुजी पन्तले एनसेल खरिदबिक्री सम्बन्धमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समितिमा बोलाएर जानकारी माग गर्नुपर्ने बताए । समितिका सभापति रामहरि खतिवडाले संसद्कै लेखासमितिले यससम्बन्धमा अनुसन्धान थालेको अवस्थामा अर्को समितिले प्रक्रिया अगाडि बढाउँदा विषय गिजोलिन सक्ने बताए ।



















प्रतिक्रिया