३१ श्रावण २०८३, आइतबार | August 17, 2026

बगर बन्यो खेलमैदान



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो ।

मङला-५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए । “चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो”, उनले भने, “पुुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो ।” उनका अनुसार उक्त खेलमैदानमा पुस १५ देखि १७ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।

खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न एक हजार पाँच सयले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाइएको छ ।

बाबियाचौर, पीपलबोट, रणवाङका युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए । बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका थिए ।

गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाएको छ । जमिन सम्याउन डोजर भाडा र स्टेज बनाउन रु पाँच लाख बराबरको खर्च भएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले जानकारी दिए । “झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ । खेलमैदानले स्वरुप लिएको छ”, उनले भने ।

गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो । खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो ।

गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ । व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो ।

गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए । कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १२ : ५७ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण