१५ माघ २०८२, बिहिबार | January 29, 2026

मन्दिरको भेटी रकमबाट गलेश्वर बजारमा सिसीटिभी क्यामेरा जडान



म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा जडान गरिएको सिसीटिभीको आज प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गरे । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर बजारको सुरक्षाका लागि सिसीटिभी राखिएको जानकारी दिए ।

“रु दुई लाख ५१ हजार खर्चेर गलेश्वर बजार प्रवेशद्धारबाट राहुघाट पुलसम्म छ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेर गलेश्वर प्रहरी चौकीबाट निगरानी गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “कोषले मन्दिरको भेटी र अन्न क्षेत्रले दाताको सहयोग जुटाएर कुल लागतको आधा–आधा लगानी गरेका हौँ ।”

कोषले गत वर्ष रु दुई लाख ३० हजार सात सय ५० खर्च गरेर गलेश्वर बजारमा ५५ सडकबत्ती जडान गरेको थियो । सडकबत्ती जडान गरेपछि बजारको सुरक्षाका लागि सिसीटिभी जडान गरिएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

सिसीटिभी र सडकबत्तीले स्थानीय, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई सुरक्षित तथा सहज बनाएको छ । सिसीटिभी मर्मत र सडकबत्तीको विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्ने कोषले जनाएको छ ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएका छन् ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको गलेश्वरलाई पश्चिमको पशुपतिनाथ र मुक्ति क्षेत्रको प्रवेशद्धारका रूपमा चिनिन्छ । साउनको सोमबार, बालाचर्तुदशी, महाशिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २७ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण