१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सुरजपुरा हत्याकाण्ड : जहाँ गिरिजाप्रसाद कोइरालाको हत्या प्रयास भएको थियो



बुटवल । आज नेपाली राजनीतिमा महत्वराख्ने सुरजपुरा हत्याकाण्ड भएको ४० वर्ष पुगेको छ । २०४० साल फागुन २० गते, प्रजातान्त्रिक आन्दोलनका अगुवा गिरिजा प्रसाद कोइराला सहित कांग्रेसका शीर्ष नेताहरुलाई एकै चिहान बनाउने योजना सहित तत्कालिन पञ्चायती व्यवस्थाबाट परिचालित मण्डले समुहले कांग्रेसको केन्द्रीय कार्यक्रममा सांघातिक आक्रमण गरेको दिन । रुपन्देही कांग्रेसले सुरजपूरामा सहीद स्मृति सभा राखेर सुरजपुरा हत्याकाण्डको स्मरण गरेको छ ।

तत्कालिन राजा बिरेन्द्रसंग प्रजातन्त्र पुनबर्हालीका विषयमा कुरा नमिलेपछि नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला देश दौडाहामा निस्कने क्रममा कांग्रेसले पहिलो जनस्तरको कार्यक्रम रुपन्देहीको सुरजपुरामा राखिएको थियो । प्रजातन्त्रको पुनरस्थापनाका लागि जनमत संग्रहपछि कांग्रेसले राखेको पहिलो जनस्तरको कार्यक्रम थियो सुरजपुराको केन्द्रीय भेला ।

सुरक्षाको दृष्टीकोणले सदरमुकामबाट टाढा सुरजपुराका स्थानीय बासिन्दा समेत रहेका कांग्रेसका तत्कालीन रुपन्देही जिल्ला सभापति पुष्पानन्द गिरीको घर आगनमा कार्यक्रम राखिएको थियो । जिल्लाका अन्य केही नेताहरुले पञ्चायतको आक्रामक दमन चलिरहँदा कार्यक्रम गर्दा खतरा हुने भन्दै कार्यक्रम नराख्न सल्लाह दिएपनि गिरीकै अडानका कारण कार्यक्रम राख्ने कांग्रेस रुपन्देहीको तत्कालिन जिल्ला समितिले निर्णय गरेको थियो ।

२०४० साल फागुन २० गते महामन्त्री गिरिजाप्रसाद, सुशील कोइराला, शेरवहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यसहितका नेता र जिल्लाका नेता कार्यकर्ताहरु सुरजपुरामा भेला भएका थिए । जिल्ला सभापति पुष्पानन्द गिरीको घरको आगनमा कार्यक्रम गरिएको थियो ।

जनमत संग्रहपछि तत्कालिन राजा बिरेन्द्रलाई भेटेर महामन्त्री कोइरालाले प्रजातन्त्रको विकल्प नभएको र पञ्चायती ब्यवस्थाले नागरिकको स्वतन्त्रता हनन् गरेको कुरा राख्दा विरेन्द्रले कांग्रेसको जनतासँगको सम्बन्ध टाढा भइसकेको बताएपछि राजासँग रिसाएर निस्केका गिरिजाप्रसाद कोइरालाको पहिलो कार्यक्रम नै सुरजपुरामा भएको तत्कालिन सभापति पुष्पानन्द गिरीका छोरा तथा कांग्रेस नेता युवराज गिरी स्मरण गर्छन् । उनले आफ्नै घरको आगनमा गिरिजा कोइरालाले निकै आक्रामक भाषण गरेको स्मरण गरे । ‘पुलिस प्रशासनले हामीलाई तर्साउन खोज्छन्, अनेक हतकण्डा अपनाउन सक्छन्, समात्न सक्छन्, कारबाही पनि गर्न सक्छन्। तर हामी पछि हट्न हुँदैन। तपाईहरुले आफ्नो मनबाट डर भन्ने शब्दलाई निकालिदिनुस्।’त्यो सभामा कोइरालाले गरेको भाषण सम्झँदै गिरीले भने ।

कार्यक्रम चलिरहेकै बेला गाउँको नजिकै एक हुल मान्छे काला झण्डा लिएर सभा भएतिरै आउँदैछन् भन्ने खबर आएको र सो खबर कोइरालाई सुनाउँदा गिरिजाले ‘काला झण्डा लिएर आएका छन् भने त एकदमै राम्रो । त्यही विरोध गर्न पाइएन, आफ्नो अभिव्यक्ति राख्न पाइएन भनेरै हामीले संघर्ष गरिरहेका छौं । केही फरक पदैन।’ भन्दै कार्यकर्तालाई सम्झाएको गिरीले बताए ।

पञ्चायतले गठन गरेको राष्ट्रबादी विद्यार्थी मण्डलको नाममा गठन भइ तत्कालमा पछि ‘मण्डले’ का नामले बदनामी कमाएकाहरुको समुहले कार्यक्रममा सांघातिक आक्रमण गरेका थिए । नेता गिरीका अनुसार मण्डलेहरुले आक्रमण सुरु गरेसँगै पुष्पानन्द गिरी लगायतले कोइरालालाई घरको माथिल्लो तलामा लिएर गए । आक्रमणकारीहरु आएर घरमा तोडफोड गर्न थाले । ‘हातमा नांगा खुकुरी लिएका, सबैले झोला बोकेका थिए, लाठी बोकेका थिए, झोलाबाट ढुंगा निकालेर सबैले कार्यक्रम स्थल र निवासमा ढुंगा प्रहार गर्न थाले।’ गिरीले त्येतिबेलाको घटना सुनाए ।

महामन्त्रीको सुरक्षा गर्न भन्दै गिरिजाप्रसादलाई घरको पहिलो तलामा लगेर राखेर तलामा प्रवेश गर्ने घोप्टे ढोका लगाएर त्यसमाथि भोटे ताल्चा लगाइएको थियो । घरको ढोका बन्द गरेर गजवार लगाइयो, तर आक्रमणकारी समुह झ्याल फोडेर घरभित्र पसे। घरभित्रको तल्लो तलामा पसेपनि उनीहरु माथिल्लो तलामा जान नसकेको गिरीले बताए । बाहिरै छुटेका शेरबहादुर देउवाको ओठमा मण्डलेहरुले प्रहार गरेको ढुंगाले लाग्यो । देउवाको ओठमा अझै पनि त्यो खत देख्न सकिन्छ। ढुंगाले लागेपछि देउवालाई पनि माथिल्लो तलामा लगियो। लगातार २ घण्टासम्म उनीहरुले ढुंगा प्रहार गरेको गिरीले बताए ।

भाला, खुकुरी, खुँडा लिएर आएका मण्डलेहरुले भेटेजतिका कार्यकर्तालाई आक्रमण गरेका थिए । प्रहरीकै संरक्षणमा त्यहाँ आक्रमण भएको प्रत्यक्षदर्शी समेत रहेका कांग्रेस नेता गिरीले बताए ।

उनका अनुसार आक्रमणकारीले माथिल्लो तलामा जान नसकेपछि घरभित्रको सम्पूर्ण खाद्यान्न, लत्ताकपडा सहितको सामानहरु लुटेर लगेका थिए । पुराना कपडाहरु घरको सिंढीमुनी थुपारेर आगजनी गरेर आक्रमणकारी फर्केपछि नजिकका छरछिमेकले आगो निभाएर नेताहरुको ज्यान जोगाएका थिए ।

आक्रमणबाट गम्भीर घाइते भएका यादवनाथ आलोक गहुँबारीमा भेटिएका थिए । सामान्य चोटपटक लागेका सहित २ सय ७२ भन्दा बढी घाइते अवस्थामा थिए। घटनामा गम्भीर घाइते भएका १९ जनालाई ६ वटा लडियामा राखेर सेमरा बजारसम्म लगिएको थियो । सेमराबजारबाट ट्रकमा राखेर घाइतेहरुलाई बुटवल पठाइएको थियो। आक्रमण भएको २ दिन पछि २२ गते सुरजपुरा घटनामा घाइते भएका यादवनाथ आलोकको मृत्यु भयो । शिक्षक रामप्रसाद चौधरीको घटनाको दशौं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सुरजपुरा घटनालाई अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले ब्यापकरुपमा लेखेपछि पञ्चायती मन्त्रिमण्डलले तत्कालिन गृहसचिव टेकबहादुर खत्रीको संयोजकत्वमा ३ सदस्सीय जाँचबुझ आयोग बनाएको र सो समितिले लुटपात भएको ठहर गर्दै आफनो बुवालाई क्षतिपुर्ती लिन भनेपनि बुवा पुष्पानन्द गिरीले मृत्यु भएका कार्यकर्ता फर्काउन र गुमेको लोकतन्त्र जनतामा बहाल गर्न माग गरेपछि आयोगका सदस्यहरु माफि मागेर फर्केको नेता गिरीले बताए ।

गिरिजाप्रसाद कोइरालालाई मार्ने उदेश्यले नै सुरजपुरा घटना घटाइएको त्यसबेलाका प्रत्यक्षदर्शी बताउँछन् । सुरजपुरा आउन भन्दा अघि पनि बाटोमा गिरिजाप्रसाद कोइरालालाई आक्रमण गर्ने योजना बनेको गिरी बताउँछन् । ‘आक्रमण गर्न खोज्दैछन् भन्ने एक खालको जानकारी थियो । गिरिजाबाबुलाई लिन म पनि खैरेनीसम्म आएको थिएँ । तर खैरेनी चोकबाट लैजान सक्ने परिस्थिति थिएन’ -उनले भने- ‘त्यो भन्दा पूर्व ज्यामिरेबाट नदीको किनारैकिनार हिँडालेर उहाँलाई घर पु¥यायौं ।’

काठमाडौंबाट आउने क्रममा पनि गिरिजाप्रसाद कोइरालाले गाडी परिवर्तन गरेका कारण आक्रमणबाट बचेको गिरीले बताए । ‘काठमाडौबाट रुपन्देही आउँदै गर्दा चितवन भन्दा पर उहाँ चढेको गाढी बिग्रियो-उनले भने- ‘त्यसपछि अर्को गाडी चढेर आउनुभयो। त्यसैले उनीहरुले पत्तो पाएनन् । नत्र गिरिजाबाबुलाई बाटोमै सिध्याउने योजना बनाएका रहेछन् ।’

मुलुकमा बहुदलीय व्यवस्था आउन भन्दा झण्डै ६ वर्ष अघि २०४० साल फागुन २० गते भएको सुरजपुरा काण्ड नेपाली कांग्रेसको इतिहासको एउटा काहालीलाग्दो घटना हो । गिरिजाप्रसाद कोइरालालाई आक्रमण गर्ने उदेश्यले गराइएको घटनामा दुई जनाले ज्यान गुमाए । २ सय भन्दा बढी घाइते भएका थिए ।

सोही घटनामा मृत्यु भएका यादवनाथ आलोककी छोरी बिना न्यौपानेले लोकतन्त्रकालागि सहिद भए बापत आफ्नो परिवारले राज्यबाट कुनै क्षतिपुर्ती नखोजेको बताइन् ।

उनले सहिदलाई सम्झेर परिवारले जुन सम्मान पाएको छ त्यही नै बुवाको योगदानको कदर भएको परिवारबाट महसुस भएको उनले बताइन् । ४० सालमा मण्डलेहरुको आक्रमणबाट बुवाको मृत्यु भएपछि आमा आफैले बुवाको दागबत्ती दिएको स्मरण गर्दै बिनाले महिलाले दागबत्ती दिएको भन्दै समाजले कुरा काटेको तितो स्मरण गरिन् ।

समाजसँग बिद्रोह गर्दै आमाले निरन्तर बुवाले देखाएको बाटोमा सक्रिय रहेको उनले बताइन् । अव नयाँ पुष्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने आमाको सपना रहेको उनले बताइन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : २८ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको