१५ बैशाख २०८१, शनिबार | April 27, 2024

जब प्रधानमन्त्री छमछमी नाच्न थाले…..



पोखरा । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो ।

समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे ।

धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि….’ सुनाए । गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा….’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे । औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्ले । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे । अरुलाई एकवटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए ।

पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर….’ र दोस्रो ‘बोलामाया…..’ । देशविदेशका साङ्गीतिक प्रस्तुतिमा भ्याइनभ्याइ उनी प्रधानमन्त्री प्रचण्डसामु भने पहिलोपटक गीत गाउँदै थिए । सपुतले क्रान्तिको पृष्ठभूमिबाट आउनुभएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए । उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे ।

“प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु”, सपुतले भने । उनको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे ।

गायक सपुतको ‘बोलमाया…।’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरुको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो । प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए । सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि सङ्घ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।”

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौँ पुरानो सपना पूरा भएको बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक–पटक पहलले सार्थकता पाएको उनको भनाइ छ । प्रमुख आचार्यले राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताए । प्रमुख आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताए । प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए ।

सो अवसरमा कास्कीको हेम्जामा जन्मेका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो । यस्तै दिवङ्गत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो । मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ….’ गीत गाएका थिए।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ३२ बजे

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण