२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

उद्योगमन्त्री भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्रीको भेट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच आज यहाँ द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बङ्गलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बङ्गलादेश हुने निर्यातको मात्रा भने न्यून नै रहिआएको भन्दै दुई मुलुकबीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिए ।

बङ्गलादेश नेपालको महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रहिआएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

दूध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडीबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बङ्गलादेश नेपालको सम्भाव्य बजारका रूपमा रहेकाले उच्च भन्सार महसुल तथा गैर भन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बङ्गलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहलकदमीका लागि उद्योगमन्त्री भण्डारीले आग्रह गरे ।

सन् २०१० देखि दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई प्रवर्द्धन गर्नेगरी सम्झौतालाई अन्तिम रूप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्गलापोर्ट प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बङ्गलादेश सरकारलाई धन्यवाद दिँदै उनले सामुन्द्रिक बन्दरगाहको उपयोगमार्फत पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर–सिंहवाद रेलवे र अन्य पारवहन रुट सञ्चालनका लागि राज्यमन्त्री चौधरीसँग उनले आग्रह गरे ।

उद्योगमन्त्री भण्डारीले नेपाल–बङ्गलादेश व्यापारका लागि काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध रूट प्रयोग हुँदै आइरहेका र नेपाली ट्रकले भारतको फूलबारी भन्सार विन्दुबाट मात्र बङ्गलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढ्न गएको पनि उल्लेख गरे ।

विगतमा भएका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले बङ्गलादेशका जलमार्ग उपयोग गर्नेसम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको स्मरण गराउँदै मन्त्री भण्डारी भने, “नेपाल र भारतबीचको पारवहन सन्धिले अन्तरदेशीय जलमार्गमा पहुँचको व्यवस्था गरेको छ, जलमार्ग सम्बन्धमा नेपालको प्रस्तावउपर भएको प्रगति र यसलाई नेपालले उपयोग गर्ने सम्भावना सम्बन्धमा बङ्गलादेशको धारणाको अपेक्षा गरेको छु ।”

भारतीय प्रसारण लाइनमार्फत नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका लागि भारतीय पक्ष सहमत भएको विषय दुवै पक्षका लागि सुखद् रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानी सुनिश्चित गर्न आग्रह गरे ।

साथै उनले राज्यमन्त्री चौधरीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको बताउँदै बङ्गलादेशी पर्यटक नेपाल आउनेमा आशा व्यक्त गरे ।

अति कम विकसित मुलुकका रूपमा समेत सहयोगको विस्तार गर्दै संयुक्तरूपमा आवाज उठाउने एवं संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चमा उम्मेदवारीलगायतका विषयमा समेत दुई देशबीच सहयोग आदानप्रदान हुँदै आएको स्मरण गराउँदै मन्त्री भण्डारीले यस किसिमको सहयोग अझ विस्तार हुनेमा जोड दिए ।

भेटका क्रममा बङ्गलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राखेका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै आफू बङ्गलादेश फर्केर सो विषयमा प्रधामन्त्रीको ध्यानाकर्षण गराउने बताए ।

उनले नेपाल र बङ्गलादेशको निजी क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिए । राज्यमन्त्री चौधरीले आगामी अप्रिलमा हुने दुई देशका सचिव र सहसचिवस्तरीय बैठकमा व्यापारमा देखापरेका समस्या समाधान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : ०२ बजे

धवलशमशेर राणाद्वारा राप्रपा परित्याग, नयाँ पार्टी गठनको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले

नेपाल समूह विजेता बन्दै एसियन गेम्स क्रिकेट छनोटको सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै