नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस सत्ता बिना बस्न नसक्ने टिप्पणी गरेका छन् । नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनको शुक्रवार नेपालगन्जमा उदघाटन गर्दै महासचिव पोखरेलले कांग्रेसले सत्ता बाहिर बसेर तीन महिना पनि धैर्य गर्न नसकेको बताए ।
पोखरेलले समीकरण परिवर्तन भएपछि कांग्रेसमा सत्ताको लागि छटपटाहट देखापरेको बताउँँदै काँग्रेसमा अहिले सत्ताको लागि छटपटाहट सुरु भएको उल्लेख गरे ।
एमाले सरकार र सत्ता नभएपछि छटपटाउने पार्टी नभएको दाबी गर्दै उनले कांग्रेस सत्ताविना बस्न नसक्ने ठोकुवा गरे । “कम्तीमा तीन महिनाको समय काम गर्नका लागि दिनुपथ्र्यो, तर संसद अवरुद्ध गरेर कांग्रेसले सत्ताविनाको छटपटाहट देखाएको छ ।” महासचिव पोखरेलले भने ।
उनले एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको समेत स्पष्ट पारे । अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको उल्लेख गर्दै जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि उप निर्वाचनबाट पुष्टी भएको बताए ।
“२०७९ सालको चुनावमा दुईतिहाई ल्याउने भन्दै गठबन्धन गरेका दलले पनि बहुमत ल्याउन सकेनन्”उनले भने, “जनताले रोजेको पहिलो पार्टी एमाले भए पनि सरकार चलाउने जनादेश हामीलाई प्राप्त हुन सकेन ।”
एमालेको ध्यान सरकारमा कुर्सीको भागबण्डामा भन्दा पनि २०८४ को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्ने तर्फ रहेको उनले बताए । आउने चुनावपछि एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामाथ्र्यमा पुग्ने महासचिव पोखरेलको दाबी छ ।
जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पोलिटव्यूरो सदस्य तथा बाँके इन्चार्ज खेममान खड्का लगायतले अधिवशेनको सफलताको शुभकामना दिएका थिए ।
बाँकेमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा ४ जना आकाँक्षी देखिएका छन् । वर्तमान अध्यक्ष किस्मत कक्षपती, उपाध्यक्ष डिल्ली बिसी, पूर्व अध्यक्ष निरक गुरुङ र प्रदेश कमिटी सदस्य घननाथ खनाल अध्यक्ष पदमा आकाँक्षी देखिएका छन् । वर्तमान नेतृत्व प्रति असन्तुष्ट समुहबाट ३ जनाको नाम आकाँक्षीमा आएपछि वर्तमान अध्यक्षको पल्ला भारी देखिएको छ । यद्देपी नेताहरुले आज रातभरीमा सर्वसहमतीको प्रयास गर्ने र त्यो समभव नभए भोलि साँझ सम्ममा निर्वाचन हुने स्थानीय नेताहरुले आँकलन गरेका छन् । असन्तुष्ट समुहबाट एकल उम्मेदवार परेको अवस्थामा भने निर्वाचन निकै रोचक हुने देखिएको छ ।



















प्रतिक्रिया