३ पुस २०८२, बिहिबार | December 19, 2025

कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’



कञ्चनपुर । कञ्चनपुरको दोधारा-चादँनी नगरपालिका-१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो ।

त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको त्रास रहन्छ । तर यसपाली नेपाली सेनाले यहाँ सेफ हाउस ९सुरक्षित घर० निर्माण गरेपछि सुनारलगायत स्थानीय ४२ परिवार बाढीको जोखिमबाट जोगिने भएका छन् ।

कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी रहेको छ । महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए । “विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गथ्र्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो”, सुनारले भने- “यसपाली नेपाली सेनाले वस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास हटेको छ ।”

करिब तीन महिना लगाएर सेनाले कुतियाकवरमा दुई तले सुरक्षित घर बनाएको हो । सेनाले उक्त सुरक्षित घर आज दोधारा-चादँनी नगरपालिकालाई हस्तान्तरण गरेको हो । सुरक्षित घर बनेपछि कुतियाकवरका ४२ परिवार बाढीको बेला बाँचिने भयो भन्दै खुसी भएका छन् ।

नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ सुरक्षित घर निर्माण गरेको हो । नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि गणेशकुमार श्रेष्ठले सुरक्षित घरको उद्घाटन गर्नुका साथै साँचो दोधारा-चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गरे । भवन हस्तान्तरणपछि पृतनापति उपरथी श्रेष्ठले सुरक्षित घरको सदुपयोगसँगै मर्मत सम्भारमा ध्यान दिन नगरपालिकालाई आग्रह गरे ।

“बाढीका बेला ज्यान जोगाउन सुरक्षित घरको धेरै महत्व हुन्छ”, उनले भने- “भविष्यमा पनि यस्तै प्रभावकारी कार्यक्रम सेनाले सञ्चालन गर्दै जानेछ ।” उपरथी श्रेष्ठले तटीय क्षेत्रको बस्तीलाई प्राथमिकतामा राखेर सेनाले सुरक्षित घर निर्माण गरेको बताए ।

सेनाले सुरक्षित घर बनाइदिएपछि २०३९ सालदेखि बाढीको जोखिम मोलेर बस्दै आएका कुतियाकवरवासी खुसी भएका छन् । स्थानीय खड्के बुढाले भने- “बाढीका कारण धेरैले ज्यान गुमाएका छन्, सुरक्षित घरले मानवीय क्षति हुनबाट जोगिने आश छ ।” बाढीका काण खेतीयोग्य जग्गा मासिदै गएको उनले बताए । यसको दीर्घकालीन रुपमा समाधान हुने गरी सरकारले कटान नियन्त्रणको पहल गरिदिनुपर्ने बुढाको माग छ ।

“बाढीले बस्तीको २०औँ बिघा जमिन बगायो”, उनले भने- “वर्खामा सधैँ ज्यान जोगाउन अन्यत्र जानुपर्ने अवस्था थियो, अब त्यो हट्नेमा आशावादी छौँ ।”

जोगबुढा नदीमा पुल नहुँदा वर्खामा विद्यार्थी विद्यालय आवतजावत गर्न मुस्किल हुने गरेको छ । “बाढीका बेला महिनौँसम्म स्थानीयवासी घर छाडेर आफन्तकहाँ बस्नुपरेको थियो”, उनले भने- “सेनाद्वारा निर्मित सेफ हाउसले अब मान्छे मात्र होइन पशु र धनमाल जोगाउन पनि सहज हुने भयो ।”

बयालीस परिवारको बसोबास रहेको कुतियाकवर भारतीय सिमानासँग जोडिएको बस्ती हो । यो बस्ती २०२२ सालमा बसेको हो । कुतियाकवरका टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क उपलब्ध गराएका हुन । झण्डै ६० जना अटाउने क्षमताको उक्त सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधारा चादँनी नगरपालिका र केही निर्माण व्यवसायीले सहयोग गरेका थिए । यहाँ दाृत निकाय र नगरपालिकाको आर्थिक सहयोगमा सेफ हाउस निर्माण सुरु गरिए पनि त्यो अझै पूरा हुनसकेको छैन् ।

दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले २०७८ सालमा बाढी आउँदा कुतियाकवरवासीले रुखमा चढेर ज्यान जोगाएका विगत सुनाए । “भौगोलिक विकटताकाबीच सेनाले ढुङ्गामा सामान ल्याएर तीन महिनामै सेफ हाउस बनाएको हो”, उनले खुसी व्यक्त गर्दै भने- “दातृ निकायले सुरु गरेको सेफ हाउस अझै अधुरै छ ।”

कुतियाकवरवासीले बाढी, विपद्बाट लामो समय सास्ती खेप्नु परेको बताउँदै अहिले पुल, सडक पूर्वाधारसित जोडिदा केही सहज भने भएको बताए । श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङग ठकुरीले रु २५ लाखको लागतमा दुई तले सेफ हाउस निर्माण गरी हस्तान्तरण गरिएको बताए । “सेनाको रु १५, नगरपालिकाबाट रु पाँच लाख र बाँकी निर्माण व्यवसायीलगायत स्थानीय सहयोगबाट भवन बनेको हो ।” उनले भने- “बाढीलगायत विपद्का बेला उपयोगी हुने विश्वास लिएका छौंँ ।”

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ०४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको