२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन



काठमाडौँ । जनसङ्ख्या र विकासलाई सन्तुलित ढङ्गले सँगसँगै लैजान आवश्यक नीतिगत व्यवस्थाका लागि साझा अवधारणा तयार गर्ने ध्येयका साथ यही मङ्सिर १२ देखि १५ गतेसम्म काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजना हुने सम्मेलनमा चीन, अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिणपूर्वी एसिया र एसियाली क्षेत्रका ३५ भन्दा बढी मुलुकका पाँच सयभन्दा बढी जनसङ्ख्या र विकास क्षेत्रका प्राध्यापक, नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र विषयविज्ञको सहभागिता रहनेछ । सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

सम्मेलनमा विभिन्न १७ वटा विषय र क्षेत्रमा केन्द्रित रहेर छलफल हुनेछन् । पछिल्लो समय जन्मदर घटिरहेको सन्दर्भमा जनसङ्ख्याको व्यवस्थापन कसरी गर्ने भन्नेबारे विशेष छलफल हुने जनाइएको छ । “यस अवस्थामा जनसङ्ख्या र विकासबीच कसरी तादम्यता मिलाउन सक्छौँ, यसका लागि नीति निर्माताले के गर्नुपर्छ, विश्वविद्यालयमा कस्तो पाठ्यक्रम राख्नुपर्छ भन्ने बारेमा छलफल हुनेछ”, विभागका सहप्राध्यापक एवं नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा पदम खतिवडाले भने ।

सम्मेलनमा नेपालका तर्फबाट प्रजननदर, जन्मदर र बसाइँसराइलगायत जनसाङ्खिक परिवर्तनका बारेमा विशेष प्रस्तुति रहनेछ । पार्किन्सनलगायत नसर्ने रोगका विषयमा पनि सम्मेलनमा छलफल हुने कार्यसूची छ । नेपालमा लैङ्गिक समानता, समावेशिता र सामाजिक सुरक्षालगायत संवैधानिक हकको कार्यान्वनय अवस्थाका बारेमा पनि छलफल हुनेछ ।

सम्मेलनमा विकास र जनसङ्ख्याका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि, भोग्नु परेका चुनौती र त्यसको सामानाका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान हुनेछ । जनसङ्ख्या र विकासका क्षेत्रमा कसरी परिवर्तन हुँदै आइरहेको भन्नेमा छलफल हुने सङ्घका अध्यक्ष डा खतिवडाले बताए ।

एसिया प्यासेफिक क्षेत्रमा भएका जनसाङ्खिक परिवर्तन, बसाइँसराइ र औषत आयु बढ्दा परेको पारिवारिक असर र प्रभाव तथा विकास नीति, योजनाले परिवर्तित जनसङ्ख्याको लाभ लिने र धान्नेबारेमा छलफल केन्द्रित हुने त्रिवि, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख एवं प्रा डा योगेन्द्र गुरुङले जानकारी दिए। सम्मेलनको निष्कर्षबाट आगामी दिनमा जनसङ्ख्या नीति निर्माण गर्न सघाउ पुग्ने विश्वास गरिएको उनको भनाइ छ ।

जनसङ्ख्या र विकासबीच संयोजन गर्ने मुख्य उद्देश्यले सन् २०१० देखि सम्मेलन हुँदै आएको छ । पहिलो सम्मेलन भारतको नयाँ दिल्ली, दोस्रो थाइल्याण्डको बैंकक, तेस्रो मलेसियाको क्वालालम्पुर, चौथो चीनको साङ्घाइ र पाँचौँ इन्डोनेसियाको जाकर्तामा सम्पन्न भएको थियो ।
रासस

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : २८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता