१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

मार्गशीर्ष कृष्ण त्रयोदशी : पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो



काठमाडौं । मार्गशीर्षकृष्ण त्रयोदशीका अवसरमा आज बेलुकीदेखि पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गर्नेको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष बालाचतुर्दशीको अघिल्लो बेलुकीदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरु भएको थियो । त्रयोदशीको बिहानैदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बालेका छन् । महादीपदानले पशुपति क्षेत्र नै उज्यालो देखिएको छ । रातभर धेरै भक्तजन दीप बालेर पशुपति क्षेत्रमा जाग्राम बस्छन् । महादीप दानसँगै पशुपति क्षेत्रमा लाखौँ भक्तजनको मेला लागेको छ ।

रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै बागमती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले सोहीअनुसार पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्छन् । “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उनले भने ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको किंवदन्तीअनुसार मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको भनिन्छ ।

यसैबीच रातभर आफैँ बसेर बत्ती कुर्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने कोषले जनाएको छ । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले अनधिकृत रुपमा कसैले पैसा उठाएको पाइए कानुनी कारबाहीको दायरामा ल्याइने बताए ।

बत्ती बालेर रातभर कुर्न नसक्नेका लागि भने कोषले रु दुई हजार १०० लिएर रातभर कुरेर वाग्मती लगी सेलाइदिने जिम्मेवारी पूरा गर्ने जनाएको छ । यसबाहेक पशुपति क्षेत्रमा बालाचतुर्दशीका अवसरमा कुनै शुल्क नलाग्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : ३६ बजे

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान