२० माघ २०८२, मंगलबार | February 3, 2026

मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग जोड्न जरुरी छः मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् । अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको दाङको चखौरामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताएका हुन् ।

‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ,’ उनले भने, ‘प्रदेश सरकारले थारु सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ । साथै, समुदायमा सिप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखिएको छ ।’

मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । निजामती सेवामा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उनले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गरे । ‘निजामती सेवामा प्रवेश गर्ने अवसर प्रदेश सरकारले खुला गरेको छ । हामीले सहभागिताको सुनिश्चितता गरेका छौँ,’ उनले भने, ‘यस विषयमा पनि यहाँहरूले ध्यान दिनुपर्नेछ ।’

स्थानीय मदिराको बजारीकरणका लागि संघीय सरकारले कानुन नबनाउँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले वर्तमान संसद्बाट विधेयक पारित गरेर भएपनि समस्या समाधान गर्न आग्रह गरे । थारु समुदायलगायत आदिवासी जनजातिले परम्परागत रूपमा उत्पादन गर्दै आएको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिएको भए पनि संघीय सरकारबाट कानुनी व्यवस्था नहुँदा ब्रान्डिङ र लेबलिङमा समस्या देखिएको मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेश सरकारले थारु समुदायलगायत अन्य समुदायले मनाउने माघ पर्वलाई सम्मानस्वरूप उत्सवका रूपमा मनाउँदै आएको उनले स्मरण गराए ।

संवोधनका क्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले गत वर्ष समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकार आर्थिक भारमा परेको बताउँदै समस्या समाधान गर्न आग्रह गरे । ‘संघीय सरकारले समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकारले समस्या भोगिरहेको छ । म सभापति ज्यूमार्फत यो समस्या राख्न चाहन्छु,’उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई सुनाउँदै भने, ‘संघीय सरकारले छिटोभन्दा छिटो समानीकरण अनुदानको रकम पठाउन जरुरी छ ।’

त्यस्तै, मुख्यमन्त्री आचार्यले हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन संघीय सरकारको ध्यानाकर्षण गराए । ‘लुम्बिनी प्रदेशको नवलपरासीदेखि बर्दियासम्म हुलाकी राजमार्ग पर्छ । तर, यो सडकको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । यसलाई तीव्रता दिन यहाँहरूको साथ आवश्यक छ,’ उनले भने । त्यसैगरी, लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा सुविधा सम्पन्न हवाई सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै उनले तुलसीपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ४२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको