२७ बैशाख २०८३, आइतबार | May 11, 2026

वन पैदावारबाट एक अर्बबढी राजस्व



पोखरा । वन पैदावार र जडीबुटीको बेचबिखनबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा रु एक अर्ब १३ करोड ५० लाख १२ हजार तीन सय ८८ राजस्व सङ्कलन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा राष्ट्रिय तथा निजी वनबाट करिब ६५ हजार क्युफिट काठ र १२ हजार एक सय ४३ चट्टा दाउरा उत्पादन भएको छ । आठ लाख दुई हजार छ सय २९ किलो जडीबुटी सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ ।

वन पैदावारको सङ्कलनलगायत कामबाट करिब २५ लाखभन्दा बढी श्रमदिनको रोजागारी सिर्जना भएको मन्त्रालयका सूचना अधिकारी राजेश पौडेलले जानकारी दिए । सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार र जडीबुटी उत्पादन र सङ्कलनबाट बर्सेनि करोडौँ रुपैयाँ आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

मन्त्रालयले दण्ड–जरिवाना, काठ, दाउरा, जडीबुटी, ठेक्का बिक्री आदिबाट राजस्व सङ्कलन गर्दै आएको छ । जडीबुटीको व्यावसायिक उत्पादन र वन पैदावारमा आधारित उद्योग विस्तार गर्नसके उपभोक्ताको आयआर्जन थप बढ्ने उनले बताए ।

वनजन्य उत्पादनको उचित व्यवस्थापन र उपयोग नहुँदा स्रोतसाधन यसैखेर जाने अवस्था छ । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वन क्षेत्रमा रहेका खाली जग्गामा फलफूलजन्य बोट बिरुवादेखि जडीबुटी खेती विस्तारमा राज्यले जोड दिनुपर्ने धारणा राखे । “वनजन्य उत्पादनको संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि उचित नीति तथा कार्ययोजना ल्याउनुपर्छ”, उनले भने, “यसले वन समूहलाई पनि बलियो बनाउँछ, अर्कातिर वन पैदावारबाट राजस्व पनि बढ्छ ।”

सामुदायिक वन समूहले गरेको आम्दानी सामुदायिक विकासमा नै खर्च हुँदै आएको छ । वनको आम्दानी विपन्न समुदाय, वन विकास र सामुदायिक विकासमा लगानी हुँदै आएको छ । प्रदेश सरकारले पनि जडीबुटी विकास कार्यक्रमका लागि बर्सेनि बजेट खर्च गर्दै आएको छ । वन पैदावारको संरक्षण तथा सदुपयोग गर्न ढलापडा काठदाउरा सङ्कलनको व्यवस्था, वनमा आधारित उद्योग र वन क्षेत्रको दूरी निर्धारणलगायत काम गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकार स्थापना भएयता ८७ लाख दुई हजार एक सय ४२ बिरुवा उत्पादन गरी सार्वजनिक तथा निजी क्षेत्रमा वृक्षरोपणका लागि निःशुल्क वितरण गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न स्थानीय तहमा दुई सय २८ हरित उद्यान स्थापना र ६७ सामुदायिक वनमा पर्या–पर्यटन कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशभर ७६ वटा वर, पीपल, समीका रुख भएका चौतारो निर्माण, मर्मतसम्भार र सौन्दर्यीकरण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले फर्निचर, जडीबुटी प्रशोधन केन्द्रलगायत वनजन्य उद्यम स्थापनामा पनि लगानी गर्दै आएको छ ।

हालसम्म १० दशमलव ३ हेक्टर वन अतिक्रमण नियन्त्रण गरिएको जनाइएको छ । चार हजार दुई सय ५० वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तुका कारण बालीनालीको क्षति व्यहोरेका किसानलाई रु नौ करोड ६० लाख राहत वितरण गरिएको छ ।

मन्त्रालयले जलाधार तथा सिमसार व्यवस्थापन, राष्ट्रिय वन विकास तथा व्यवस्थापन, ताल संरक्षण, वन अनुसन्धान, वातावरणको जगेर्नालगायत क्षेत्रमा काम गर्दै आएको छ । रामसारमा सूचीकृत पोखरा उत्पत्यका क्षेत्रका नौ तालसहित ४५ वटा तालमा संरक्षण र पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : १४ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको