२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया



नवलपुर । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो । घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । परदेशी भूमिमा श्रम बेच्न गएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बिचमा बाकसभित्र आइपुगेकी थिइन् ।

घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी फेरि सोध्छिन्,“हजुरआमा, ममी कहिले आउनुहुन्छ ?” तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्दिनन् । उनी चुपचाप आँसु पुच्छिन् र बन्द बाकसतिर हेरिरहन्छिन्, जहाँ उनकी २६ वर्षीय छोरी तिलमाया सार्की चीरनिद्रामा सुतिरहेकी छन् । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । कसैले भन्न पनि सक्दैन—“तिम्रो ममी अब कहिल्यै फर्किनुहुन्न ।”

तिलमाया सार्कीले यो बाटो सजिलोसँग रोजेकी भने थिइनन् । श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु उनको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन । उधारोले घर चल्न सकेन । उनले मलेसियाको बाटो रोजिन् ।

“म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु”, भन्दै उनले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाइन् र मलेसियातर्फ लागिन् । तर परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।

त्यसको केही दिनपछि अचानक फोन आयो, “तिलमायाको हत्या भयो ।” यो खबरले परिवारलाई छियाछिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पूरा गरी हत्या भएको ११ महिनापछि तिलमायाको शव बाकसमा घर आइपुग्यो ।

तिलमायालाई अन्तिम श्रद्धाञ्जली दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो । मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउनका लागि घरपरिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो ।

आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचार आएपछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताइन् ।

“सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुनसकेको थिएन”, उनले भनिन्, “शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र १५-२० दिनमा राहत पनि आइसक्ने छ ।” वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसला पछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ ।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ । मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ०० बजे

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०