काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको अविजित इनिङ खेले ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।
सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो ।
नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।
नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।


















प्रतिक्रिया