कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरको पुनर्वास मा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई सम्मान गरेका छन् ।
पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गरेका हुन् ।
उक्त वडाबाट मात्र १५ जनाले जनयुद्धमा प्राण आहुति दिएका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सहिदको योगदानलाई युगौं सम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।
जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने बताए ।
यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजाको अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उनले अवलोकन गरे ।
आजै अध्यक्ष प्रचण्डले पुनर्वास नगरपालिका–५ शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरे । भेटमा उनले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णु कुमारी लामिछाने बिके माओवादी केन्द्रमा प्रवेश गरिन। अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरे ।
प्रतिक्रिया