३० असार २०८३, मंगलबार | July 14, 2026

सरकारको औचित्य, योग्यता र जनउत्तरदायित्व सुशासनमा देखिनुपर्छ : अर्जुननरसिंह केसी



काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको औचित्य, योग्यता र जनउत्तरदायित्व सुशासनमा देखिनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभाका सदस्य नेता केसीले अव्यवस्था, पक्षपात, विधिविहीनता र भ्रष्टाचारले आम जनमानसमा निराशा, अविश्वास र असन्तुष्टिको अवस्था सृजना गरेको टिप्पणी गरेका छन् । नेता केसीसँग राससका समाचारदाता केसीसँग राससका समाचारदाता सुशील दर्नालले गरेको अन्तर्वार्ताको सम्पादित अङ्श ।

प्रतिनिधिसभामा तपाईंको हालसम्मको अनुभव कस्तो रह्यो ?
म हालसम्म पटक–पटक जननिर्वाचित सांसदका रुपमा जनप्रतिनिधि भएँ । संविधानसभा सदस्य पनि निर्वाचित भएँ । चारपटक विभिन्न मन्त्रालय सम्हालेँ । जनताका असीमित आवश्यकता र सरकारको सीमित साधन–स्रोतका बीच न्यायोचित वितरण नै कुशल र व्यावहारिक नेतृत्वको योग्यता हो भन्ने म ठान्दछु । तर, त्यस्तो व्यवहारमुखी मान्यता कार्यान्वनयमा रुपान्तरण हुन सकेन । यस आधारमा भन्नुपर्दा विभिन्न पटकका मेरा संसदीय अनुभवहरूमा विविधता छ । सबै सांसदहरूका कार्यसम्पादन र भूमिका आ–आफ्नै छन् । भ्रष्टाचार, दण्डहीनता र आर्थिक अराजकतालाई नियन्त्रण गरेर सुशासन, लोकतन्त्र, दिगो विकास र जनता लाभान्वित हुने व्यवस्थाको सुनिश्चितताका लागि मैले निरन्तर रुपबाट आफ्नो भूमिका र प्राथमिकतालाई लगाएको छु । मुलुकका समस्या समाधान गर्ने विषयमा मेरो ज्ञानले भ्याएसम्म र सहमति र सहकार्यका आधारमा चल्नुपर्छ, तर सहमति भनेको कसैले कसैसँग पनि गर्ने आत्मसमर्पण होइन । यो त सहअस्तित्व, र सहसम्मानका साथको कार्यपद्धति हो । विधिविहीनता, भ्रष्टाचार, दण्डहीनता र कुशासनप्रति उदासीनता वरण गर्ने कुरामा मैले कसैसँग कम्प्रोमाइज गरिनँ र सहकार्य पनि गर्न सक्दिनँ । यस आधारमा आफ्नो भूमिका र दृढ मान्यतामा म सन्तुष्ट छु ।

संविधान कार्यान्वयनको अवस्थालाइ कसरी हेर्नु भएको छ ?
नेपालको संवैधानिक इतिहासमा आजसम्म सातवटा संविधान जारी भए । तिनका उत्पत्ति र समाप्तिले हामीलाई धेरै अनुभव र मार्गदर्शन दिएका छन् । जननिर्वाचित संविधानसभाले बनाएको यो संविधानको भावनामा पूर्ववर्ती संविधानका विशेषता, अनुभव र कमी–कमजोरीको निचोड अन्तरनिहित छ । जस्तो समावेशिता र सामाजिक न्याय यो संविधानको सबभन्दा महत्वपूर्ण विशेषता हो, जो वञ्चितीकरणको लामो र तीतो अनुभवले आवश्यकताका रुपमा ल्याएको हो । निरङ्कुशताका सबै सम्भावनालाई यो संविधानले रोकेको छ । तर हाम्रै अव्यवस्था, पक्षपात, विधिविहीनता र भ्रष्टाचारले आम जनमानसमा निराशा, अविश्वास र असन्तुष्टिको अवस्था सृजना भएको छ । यो नै आजको प्रमुख राष्ट्रिय चुनौती हो । सत्ताबाट बारम्बार देखाइने कमी–कमजोरी, उदासीनता र हेलचेक्र्याइँले गर्दा यसको कार्यान्वयनमा समस्या उत्पन्न भएको छ । मुख्य रुपमा संविधानको लोकतान्त्रिक र जनउत्तरदायी ध्येयमा कुनै खोट छैन । व्यवस्थामा होइन, व्यवस्थापकमा देखिएको मनपरितन्त्र र स्वेच्छाचारिता आजको समस्या हो ।

संविधान संशोधनको विषयलाई कसरी हेर्नुभएको छ ?
सरकार संविधानको अनिवार्य पालनकर्ता र जनतालाई परिपालन गराउने शक्ति हो । सत्ताले संविधानको अक्षर र भावनाअनुरुप यसको पालना गर्नु अनिवार्य हुन्छ । २०७२ मा वर्तमान संविधान जारी भएपछिका दिनमा आ–आफ्नै पक्ष, पहिचान र पृष्ठभूमि बोकेर आएका विभिन्न किसिमका सरकारहरू गठन भए । संविधान मुलुकको मूल कानुन, जीवन्त, गतिशील र सर्वोच्च दस्तावेज भएकाले यसको कार्यान्वयनमा राष्ट्रको आवश्यकताअनुरुप सहमतिका आधारमा समयसापेक्ष संशोधन र परिमार्जन गर्दै अग्रगति दिइरहनुपर्ने राजनीतिक कौशल नेतृत्वमा हुनुपर्छ । हाम्रो संविधानमा पनि संशोधन, परिमार्जन, अझ बढी स्पष्टता र मेलमिलाप तथा राष्ट्रिय सहमतिको खाँचो हामी सबैले अनुभव गरिरहेका छौँ । त्यसैले नेपाली कांग्रेस, एमाले र अन्य राजनीतिक दलका बीच वर्तमान सरकारको गठन गर्दा भएको सातबुँदे सहमतिमा संविधानमा आवश्यक संशोधन गर्नुपर्ने प्रतिबद्धता समेटिएको छ । तर यो प्रतिबद्धताको बाबजुद १० महिना बितिसक्दा पनि यतातिर कुनै तर्खर नगर्नु दुःखद आश्चर्य भएको छ । कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्यका रुपमा प्रस्तुत यस बुँदामा देखिएको मौनता र अकर्मण्यताले सत्ता गठबन्धनको प्रतिबद्धतामा प्रश्न उठेको छ ।

सुशानका लागि सरकारलाई तपाईंको सुझाव के छ ?
सरकारको औचित्य, योग्यता र जनउत्तरदायित्व कार्यरुपमा सुशासनमा देखिनुपर्छ । लोकतन्त्र र सुशासनसँग भ्रष्टाचार एकसाथ चल्न सक्दैनन् । यो भाषणको मसला होइन जिम्मेवारी र कर्तव्यको प्राथमिकता हो । भ्रष्टाचार, दण्डहीनता, अराजकताको अन्त्य, अधिकतम जनहित र विधिको शासन, स्वतन्त्र र जिम्मेवारीप्रति जागरुक न्यायपालिकाको अस्तित्व नै सुशासनको पहिलो विशेषता हो । यति गर्न सक्ने सरकार भएमा त्यसले लोकतन्त्रको नवयुग ल्याउन सक्छ । यसमा सरकारले कसैसँग मोलाहिजा वा सौदाबाजी र सत्तामा आफ्नो आयु लम्ब्याउने चेष्टा गर्नु हुँदैन । सुशासनको मूल आदर्श नै विधिको शासन, दण्डहीनताको अन्त्य र भ्रष्टाचार मुक्त समाजको स्थापना हो । यतातिर राज्यशक्ति सम्पूर्ण रुपमा केन्द्रित हुनु आवश्यकता छ । सुशासनको सुगारटाई भाषण निरर्थक हुन्छ ।

सङ्घीयता अझै सुदृढ बनाउन के गर्नु पर्ला ?
सुरुमै के प्रस्ट होऔँ भने देशमा विद्यमान समस्या र चुनौतीका लागि सङ्घीय राज्यसंरचना आफैँ समाधान होइन, एकात्मक राज्य संरचनाको विकल्प हो । सङ्घीयता लागू गर्ने चरणमा हामीकहाँ यसबारे बहस नै गलत तरिकाले गरियो । सङ्घीयता नै देशको समाधान हो भन्ने भाष्य रचना गरियो । यही भाष्यको परिणामस्वरुप आज जनतामा छाएको निराशाले गर्दा सङ्घीयता विवादको विषय बन्नपुगेको छ । अर्कातिर आज देखिएको जनप्रतिनिधिको भारी देशले थेग्न सक्दैन । करिब ३६ हजारभन्दा बढी प्रतिनिधित्वको औचित्य र भार देशलाई आवश्यक हो कि होइन रु तसर्थ स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधित्वको सङ्ख्यामा ५० प्रतिशत घटाउनुपर्छ भन्ने मेरो धारणा छ ।

हरेक प्रदेश आर्थिक, प्रशासनिक, जनतालाई दिने सेवासुविधामा आत्मनिर्भर भएमा मात्र सङ्घीयता सुदृढ हुन्छ । हरेक कुरामा केन्द्रको मुख ताक्ने, केन्द्र सरकार गठन र विघटन हुनेबित्तिकै प्रदेश सरकारहरू पनि बन्ने वा भत्किने अवस्थाले सङ्घीयता सबल र सक्षम हुँदैन । भ्रष्टाचार, दण्डहीनता, अराजकता, अपारदर्शिता, भागबन्डा जस्ता विसङ्गति र विकृतिले सङ्घीय व्यवस्थालाई पनि घातक असर पु¥याएको छ । सरकारले हालै गठन गरेको शासकीय सुधार आयोगले सङ्घीयताको सफलता र प्रदेशहरूको औचित्य र जनउपयोगितालाई सार्थक र सफल बनाउने दिशामा ठोस उपाय दिन सक्नुपर्छ ।

युवा पलायन रोक्न सरकारलाई तपाईंको सुझाव के छ ?
युवापुस्ताका चाहना र आवश्यकतालाई सरकारले कार्यमूलक सम्बोधन गर्न सक्नुपर्छ । हरेक दिन तीनदेखि पाँच हजार युवाहरू विदेसिन विवश छन् र हरेक दिन तीनदेखि पाँचवटा लास बाकसमा देश भित्रिरहेका छन् । यसको निराकरण नै राष्ट्रको पहिलो कर्तव्य हो । सरकारले के बुझ्नुपर्छ भने विदेशले ‘आइज’ भनेर जबरजस्ती तानेर हाम्रा युवाहरूलाई लगेको होइन । देशले ‘जा’ भनेर धकेल्ने बाध्यात्मक वातावरण बनाएको कारण उनीहरू तपाईंकै शब्दमा ‘पलायन’ भएका हुन् । उनीहरूलाई ‘योग्यता अनुसारको काम र काम अनुसारको दाम’ पाउने, न्यायोचित रोजगारी र वृत्तिविकास ९क्यारियर० को वातावरण बनाउनुपर्छ । लगानी, उत्पादन र निर्यातमा वृद्धि सँगसँगै रोजगारीमा स्वतः वृद्धि हुन्छ । हाम्रो युवापुस्ताले सूचना प्रविधि, अनलाइन सेवा, अन्य सेवा क्षेत्र, खेलकुद आदिमा देशले गर्व गर्ने खालको योगदान पु¥याएका छन्, अझ बढी योगदान पु¥याउने सामथ्र्य राखेका छन् । यसको प्रोत्साहन र कदर हुनुपर्छ ।

मुलुकको विकासका लागि राजनीतिक दलहरूलाई तपाईंको सुझाव के छ ?
सर्वप्रथम पार्टी सुधारका कार्यसूचीप्रति गम्भीर हुनु नै प्रत्येक पार्टीको दायित्व हो । हाम्रा सम्पूर्ण दलहरूमा आन्तरिक प्रजातन्त्र प्रवद्र्धन, नेतामुखी होइन नीतिमुखी पद्धतिको निर्माण, व्यक्ति होइन संस्थामुखी र विधिबाट सञ्चालित प्रक्रियाअनुसार पार्टी सुधार आजको अनिवार्य आवश्यकता हो । पार्टी नै प्रथम पाठशाला हो जसबाट सुशासनमा प्रशिक्षित व्यक्तित्व नै राष्ट्रको सुशासनको संवाहक बन्नसक्छ । तसर्थ, हरेक दलको संरचना, अस्तित्व र विशेषता आ–आफ्नै प्रकारको छ । मैले दिने सुझाव यतिमात्र छ–भ्रष्टाचार, दण्डहीनता र कुशासनलाई प्रश्रय दिने काम नगरौँ । राष्ट्रिय एकताको भावनामा वैमनस्यता र फाटो ल्याउने निषेधको राजनीतिलाई स्थान नदिऔँ । लोकतन्त्र, नागरिक स्वतन्त्रता तथा अधिकार, विधिको शासन र कानुनी राजको बाटो अवरुद्ध हुने र हिंसात्मक काम कतै कसैबाट कदापि नहोस् । हाम्रो समर्थनले सरकार राष्ट्रिय हितमा सफल होस् । हाम्रो विरोधले सरकार ठीक बाटोमा चल्न बाध्य होस् भन्ने प्रतिपक्षी मानसिकता नै लोकतन्त्र सशक्तीकरणको अजय स्रोत हो ।

तपाईंको अबको योजना के छ ?
संविधानको सफल कार्यान्वयन, जनताको न्यायपूर्ण भावना र चाहनाको प्रतिनिधित्वका लागि सक्दो प्रयत्नमा छु । यसैलाई निरन्तरता दिइरने मेरो प्रयत्न रहने छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ५२ बजे

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल