४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेप्टेचौर-काउरा-गिठिनी-पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति



म्याग्दी । बेनी नगरपालिका-९ नेप्टेचौरबाट काउरा-गिठीनी-आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ । बेनी-पाखापानी सडकको नेप्टेचौर-पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७र६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बेनी-पाखापानी म्याग्दीको प्राथमिकताप्राप्त र रणनीतिक महत्वको सडक योजना हो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति भएको हो ।

सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको बेनी नगरपालिका-९ काउराका विनोद चोखालले बताए । “नेप्टेचौरबाट तोरीपानी-ओखले-पात्लेखेत हुदै झिँ जोड्ने मूलसडक घुमाउँरो भएपछि १५ वर्षअघि छोटो दूरीको वैकल्पिक सडक निर्माण भए पनि प्राथमिकतामा परेको थिएन”, उनले भने, “स्तरोन्नति भएको ठाउँमा यसअघि साँघुरो सडक थियो । ग्रेड तथा घुम्ती मिलेको थिएन ।”

ढलान गरेपछि सडकमा यात्रा गर्न सहज भएको चोखालले बताए । बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएको छ ।

रु तीन करोड बजेट विनियोजन भएको योजना कार्यान्वयन गर्न २०८१ पुस १९ गते रु दुई करोड नौ लाखमा विकेश-दुप्चेश्वर-शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म ठेक्काको म्याद भएको योजना तीन महिनाअघि नै सम्पन्न भएको हो ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताए । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ ।

पहिलो चरणको ठेक्काबाट बचेको रु २० लाख बजेट बराबरको थप काम गर्न अर्को ठेक्का लगाएर काम थालिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । आव २०८१/८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट यही योजनामा विनियोजन गरेको थियो ।

बेनी-पाखापानी सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ । किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरेको छ । प्रदेश सरकारले मुख्य सडक स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेकाले नगरपालिकाले वैकल्पिक सडक स्तरोन्नतिको काम थालेको नगरप्रमुख सुरत केसीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : १० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको