बुटवल । बुटवलको जितगढीबाट खसी बोकाको मासु भन्दै बाख्रीको मासु बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका १ जितगढीका ३४ वर्षीय मेराज शाहलाई खसी बोका भन्दै बाख्रीको मासु बेच्ने गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका शाहले विभिन्न स्थानहरुबाट बाख्री खरिद गरि ल्याइ आफ्नै घरमा काटेर मासु पसलमा खसी बोकाको मासु भन्दै झुक्याएर बेच्ने गरेको प्रहरीले जनाएको छ ।
घरमै बाख्री काट्ने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शाहको घरकोठा खानतलासी गर्ने क्रममा घरमै बाख्री काटी भुत्लाउदै गरेको अवस्थाको टाउकोसहित २९ के.जी. ३ वटा बोरामा रहेको काटेको मासु ४१ के.जी. र काटीफालेको बाख्रीको विभिन्न भागको अंगहरुको मासुको टुक्रा २ थान फेला परेको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।
पक्राउ परेका शाहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिमको कसुर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ दिन म्यादथप भई इलाका प्रहरी कार्यालय बुटवलबाट थपअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया