काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग अहिले छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा बसिरहेको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया सहभागी छन् ।
प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका सचेतकहरूसँग बैठक सञ्चालनको विषयमा छलफल गरिरहेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनु पर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष तयार नभएकाले अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध खुल्ने संकेत देखिएको छैन । मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको थियो ।



















प्रतिक्रिया