काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी लिइएको छ । काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो । तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान थालेको थियो ।
मुद्दामा पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायत छन् । भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ ।



















प्रतिक्रिया