काठमाडौं । बलिङमा सन्दीप लामिछाने चम्किँदा स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजकाे दोस्रो खेलमा नेपालले घरेलु टिमबाट ९८ रनको लक्ष्य पाएको छ ।
स्कटल्यान्डको ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिमले नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटियो ।
स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा एक मेडन फ्याक्दै ११ रनमात्र खर्चिए । उनको इकोनोमी रेट ३.०० भन्दा तल रह्यो ।
यसबाहेक, करण केसीले दुई र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
स्कटल्यान्डका माइकल लियस्कले सर्वाधिक ४६ रन बनाए । कप्तान म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलनले १० रन थपे । यसबाहेक, स्कटिस टिमबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो इनिङको पहिलो पावर प्ले समाप्त हुँदासम्म स्कटल्यान्डका आधा ब्याटर पभेलियन फर्किसकेका छन् । ६ ओभर समाप्त हुँदा स्कटल्यान्डले पाँच विकेट गुमाएर ३६ रन बनाएको छ ।
नेपालका करण केसीले दुई विकेट लिए । यस्तै, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेपालले एक विकेट भने रनआउटबाट लिएको थियो ।
शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीन पटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रो पटकमा जित निकालेको थियो ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र अहिलेसम्मको एकमात्र खेल हो ।
यता, स्कटल्यान्डको पनि जारी सिरिजमा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो ।
आइतबारदेखि सुरु भएको सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।
प्रतिक्रिया