१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

पीडित भन्छन् “आयोग बन्दछ । अनि हामीलाई बोलाउँछ । फेरि हामीले आफ्नो पीडाका कुरा भन्छौँ । अनि हामीलाई थप पीडा हुन्छ”



काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन् ।

आयोगले आज यहाँ आयोजना गरेको सङ्क्रमणकालीन न्यायमा पीडित र सरोकारवालासँगको अन्तरक्रियामा उनले नयाँ विनियमावली बनाउनका लागि आवश्यक छलफल गर्ने बताइन् । “सरकारले हामीलाई ऐन दिएको छ । अब त्यही ऐन टेकेर नयाँ विनियमावली बनाउनुछ”, उनले भनिन्, “आयोगले वार्षिक कार्ययोजना बनाएर चाँडै काम थाल्ने छ ।”

सूदूरपश्चिम प्रदेशकी पूर्वप्रमुख तथा बेपत्ता पारिएका परिवारका सदस्य शर्मिला त्रिपाठीले तेस्रो पटक गठन गरिएको आयोगले बेपत्ता परिवारको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने बताइन् । उनले पीडाको भोगाइ धेरै भएकोले अब काम सम्पन्न गर्न तिर अग्रसर हुनुपर्ने बताइन् । “आयोग बन्दछ । अनि हामीलाई बोलाउँछ । फेरि हामीले आफ्नो पीडाका कुरा भन्छौँ । अनि हामीलाई थप पीडा हुन्छ”, उनले भनिन्, “अब आयोगले बोलाउने मात्र होइन काम गर्नुपर्दछ ।”

उनले छोरोछोरीलाई जेनतेन पढाए जागिर पाउन समस्या भएकोले छुट्टै आरक्षणको व्यवस्था गरेर जागिरको सुनिश्चित गर्न आग्रह गरिन् । नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले आयोग पहिले जस्तो नभएर कार्यमा केन्द्रित भइ पीडितका माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

शान्तराज मुल्मीले पीडितका आँशु पुछ्ने काम बन्द गर्न आयोगलाई सुझाव दिए । मानवअधिकारकर्मी सुवोध प्याकुरेलले नियम र काननभन्दा आपसी सहमतिअनुसार आयोगले काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले सरकारको भन्दा जनताको बलमा काम गर्न आयोगलाई आग्रह गरे ।

बेपत्ता पारिएका परिवारका सदस्यले आयोगले वार्षिक कार्ययोजना बनाएर काम गर्न सुझाव दिएका छन् । बेपत्ता पारिएका परिवारका सदस्य केशव खनालले बेपत्ता पारिएकालाई वर्गीकरण गरेर काम गर्न सुझाव दिए ।

अर्का पीडित ओखलढुङ्गाका ताराबहादुर सुनुवारले आफ्नो छोरो १९ वर्षदेखि हराएको हुँदा खोजी गर्न आग्रह गरे । “छोरो १९ वर्षदेखि हराएको छ । यदि छोरो मरेको छ भने हामी काजक्रिया गर्छौं, बाँचेको छ भने छोरो अझ आएको छैन”, सुनुवारले भने ।

काठमाडौँकी रुवि श्रेष्ठले आफ्नो परिवारका तीन जना बेपत्ता भएकाले राज्यले अझै न्याय दिन नसकेको बताए । उनले अहिले राज्य र विद्रोह पक्षबाट पीडित भएका आफूहरु मिलेको भन्दै सरकारले अपराध गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।

गोरखाकी लक्ष्मी कोइरालाले आफ्नो श्रीमान् विसं २०५४ देखि बेपत्ता भएकाले बेपत्ता बनाउन आदेश दिनेलाई कारबाही गर्नुपर्ने बताए । आयोगका सचिव खेमराज ज्ञवालीले आयोगले आत्मसम्मानमा चोट नलाग्ने गरी न्याय गरिने बताए । उनले सातवटै प्रदेशमा गएर पीडितका कुरा सुनेर कसरी न्याय दिन सकिन्छ भनेर आफूहरु सक्रिय रहने बताए । आयोगमा हालसम्म बेपत्ता परिवारका दुई हजार ५४२ उजुरी दर्ता भएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ४४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले