१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

लेक उक्लिए गोठाला


१४ असार २०८२, शनिबार  

104
Shares

बागलुङ । बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने गर्छन् ।

यस वर्ष पनि बर्खा लागेसँगै गोठालाहरु वस्तुभाउ लिएर लेक उक्लिन थालेका छन् । असार पहिलो सातादेखि नै लेक उक्लिन सुरु गरेका गोठलाहरु कोही गोठमै पुगिसके भने कोही बीच बाटोमै छन् । असार अन्तिम सातासम्म सबै गोठला लेकमा पुगिसक्छन् ।

एकै परिवारले सयौँको सङ्ख्यामा पशुपाल्ने हुँदा हिउँद बर्खा लेकबेसी गर्नु परेको हो । यतिबेला लेकमा उक्लिएका गोठलाहरु अब असोज ५ गतेपछि मात्रै बेसी झर्छन् । बर्खाभरी लेकमा बस्ने गोठलाहरुले चार महिनालाई पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् ।

लेकमा बस्ने अधिकांश किसानको भेडीगोठ हुन्छ । केहीले गाई र भैँसी पनि लिएर गएका हुन्छन् । बर्खाभरी लेकमा बस्दा पशुको रेखदेखसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, डाली, मान्द्रो र काठबाट बन्ने सामग्री बनाउने गर्छन् । जसले उनीहरुको आयआर्जनमा टेवा पु¥याएको हुन्छ ।

गोठालाहरु समुन्द्री सतहदेखि चार हजार ८०० मिटरको उचाईसम्म पुगेर गोठ बनाएर बस्ने गर्छन् । ढोरपाटन–९ का तिलबहादुर मगरले यसपाली ढिलो गरी लेक उक्लिए । उनी गत वर्ष उनी असारको ३ गतेनै गर्पाछेडा पुगेका थिए ।

मगरले भने, “मेरा साथीहरु त एक साता पहिलेनै लेकमा पुगिसके, यसपाली घरमा काम गर्ने मान्छे थिएनन्, बारी बाँझो राख्न भएन, कोदो लगाएर जाउँ भन्दा ढिलो भयो, ढिलै भए पनि जसोतसो आइयो, मेरा १२÷१५ वटा गाई र गोरु छन् ।”

६७ वर्षीय मगरले आफू नौ वर्षको उमेरदेखि भेडीगोठसँग लेकबेसी गर्न थालेको बताउनुभयो । गाउँमा वस्तुभाउ पाल्ने सबै किसानहरु लेक उक्लिसकेको उनको भनाइ छ । बर्खाको समय गाउँ सुनसान हुने भन्दै दसैँ सुरु हुन थालेपछि मात्रै मान्छेहरुको चहलपहल हुने मगरले बताउ ।

पहिलेको तुलनामा अहिले पशुपालन गर्नेहरुको सङ्ख्या कम हुँदै गएको उनी बताउँछन् । आफूले लामो समयदेखि पशुपालन गर्दै आएको कतैबाट अनुदान नपाएको मगरले गुनासो पोखे।

खासगरी किसानहरु रिग, सोलेडाँडा, गर्पाछेडा, टिकाधार, पोखरा, दहखर्क, खानीखोलालगायतका लेकमा पुग्ने गर्छन् । यि क्षेत्रमा पश्चिम बागलुङका मात्रै नभएर रोल्पा, रुकुम, डोल्पाबाट पनि सयौँको सङ्ख्यामा गोठालाहरु भेडा लिएर आउने गरेको निसीखोला गाउँपालिका–६ का पृथराम घर्ती मगरले बताए ।

लेकमा धेरै ठाउँबाट गोठालाहरु आउँदा रमाइलो हुने भन्दै समस्या पर्दा एकले अर्कालाई सहयोग गर्ने उनको भनाइ छ । लेकमा पर्याप्त घाँस हुने हुँदा धेरै जसो गोठालाहरु बर्खाको समय बसीमा नबस्ने घर्ती मगरले सनाए। उनका ५०० बढी भेडाहरु छन् ।

“बाउबाजेले भेडाबाख्रा नपालेको भए सायद अहिले हामीहरु यो पेसामा हुने थिएनौँ, ऊ बेला पढाइ गर्ने चलन थिएन, म अहिले ७९ वर्षमा लागे, जन्मेदेखि नै बाउआमाले मलाई गोठमा हिँडाउनु भएको रैछ, त्यही भएर होला यो पेसा छोड्नै मन लाग्दैन” घर्ती मगरले भने, “बुढेसकाल लाग्यो, अब त केही वर्षपछि लेक उक्लिन सकिदैन होला, बर्खामा बेसीमा वस्तुभाउ राख्न पाइँदैन, त्यहाँ बारीभरी खेती गरिएको हुन्छ, त्यही भएर अब दसैँ मान्न मात्रै तल झर्ने हो ।”

लेकबेसी गरेरै आफ्नो छ दशक बितेको तमानखोलाका गोरबहादुर रसाइलीले बताए । दुई महिनाका लागि चाहिने अन्नपात लिएर लेक उक्लिन थालेको उहाँको भनाइ छ । बिरामी नपरे र कुनै समस्या नभए भदौमा मात्रै खर्च लिन घर झर्ने रसाइलीले बताए । गाउँबाट लेक पुग्न झण्डै दुई दिन लाग्ने हुँदा लामो समयका लागि एकै पटक खर्च लिएर जाने गरेको उनी बताउँछन् ।

“अब आउने दसैँमा २०र३० वटा जति भेडा बिक्री गर्नु छ, त्यसले गर्दा पोहोर सालभन्दा केही दिन अगाडि बेसी झर्ने योजना बनाएको छ, अरु केही गर्न सकिएन यस सम्पत्ति पालेरै जीविको चलाएका छौँ, आठ÷दश भेडा वर्षै पिच्छे बिक्री हुन्छन्, त्यहीबाटै नुन तेल खाने पैसा आउँछ, बेसीमा मात्रै बसेर वस्तुभाउ पाल्न सकिदैन” रसाइलीले भने ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ११ : ५७ बजे

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक

गैरीगाउँ क्षेत्रका सबै ठूला घर भत्काइयो

काठमाडौं । गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र लालीबजार को प्रदर्शनमा उच्च अदालत पाटनले तत्कालका