बुटवल । बुटवल उपमहामनगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको सामाजिक, सांस्कृतिक, आर्थिक, व्यवसायिक तथा राजनीतिक विकासमा समेत बुटवल उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान रहेको बताएका छन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे सहित प्रहरी प्रशासन तथा विभिन्न कार्यालयका नव आगन्तुक कार्यालय प्रमुखलाई स्वागत गर्ने कार्यक्रममा सो कुरा बताएका हुन ।
नगरप्रमुख खेलराज पाण्डेय बुटवलको ऐतिहासिक महत्व बोकेको पारी बुटवलको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउँदै रात्रीकालिन बजार सञ्चालनमा जोड दिए । बुटवलको बजारलाई चलायमान बनाउनको लागि र बाह्य पर्यटकलाई आकर्षण गर्न रात्रीकालिन बजार अपरिहार्य रहेको बताउँदै उनले त्यसलाई पुरा गर्नेगरी सहयोगी बन्न व्यवसायिक संघसंस्थाहरुलाई आग्रह गरे । ‘रात्रीकालिन बजार सञ्चालनका लागि विभिन्न प्रकारका प्रयासहरु भएका छन्’, उनले भने,- ‘यो विषयलाई अहिले एउटा टुंगोमा पु¥याउनै पर्छ ।’ बुटवलको विकासको विरुद्धमा समेत केही मानसिकता देखिएको बताउँदै उले जसका कारण काम गर्न समस्या भएको उल्लेख गरे । उनले विकासका लागि सहकार्य गर्न पनि आग्रह गरे ।
कार्यक्रममा रुपन्देहीमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले समग्र जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणका कुरामा र व्यवसायिक वातावरण निर्माणमा कसैसंग कुनै प्रकारको सम्झौता हुन नसक्ने बताए । उनले जिल्लामा खुला सिमा रहेका कारण सुरक्षा लगायनका अन्य प्रकारका चुनौती पनि रहेको स्मरण गर्दै त्यसको व्यवस्थापनमा कुनै प्रकारको कमजोरी नहुने भनाई राखे । आगामी कात्तिक १७ हुन लागेको रुपन्देही क्षेत्र नं. ३ को उपचुनाव समेत रहेको स्मरण गर्दै उनले चुनावलाई समेत भय रहित वातावरण शान्तिपूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारी कर्मचारीहरुलाई सेवाप्रति पूर्ण जिम्मेवार बन्न आग्रह गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको कार्यालय समयलाई कडाईका साथ पालना गर्न निर्देशन दिए ।
रुपन्देही शिक्षा तथा स्वास्थ्यमा समेत छिमेकी जिल्लाहरुलाई सघाउने जिल्लाको रुपमा आफ्नो पहिचान बनाएको बताउँदै मुलुककै अग्रणी जिल्ला भएकाले यसका सम्भावना र चुनौतीहरु पनि उत्तिकै रहेको भनाई राखे ।
कार्यक्रममा स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले मुलुकको औद्योगिक तथा व्यवसायिक वातावरण विग्रिएका कारण भएका उद्योगहरु तथा व्यापार व्यवसाय समेत बन्द हुने स्थितीमा पुगेको बताउँदै पलायन हुन खोजेका उद्योगी व्यवसायीलाई पुनस्थापित हुने वातावरण निर्माणमा सहयोगी बन्न नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । उनले झन्झटिला ऐन कानुनहरुलाई सुधार गर्न पनि आग्रह गरे ।
त्यस अवसरमा बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझालाई संघमा सम्मान गरिएको हो । हालै उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका वझा, बुटवलका सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित संघका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा स्थापित बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रो पटक विश्व विद्यालय अनुदान आयोगबाट क्यू.ए.ए. प्राप्त गर्न सफल भएकोमा उक्त क्याम्पसलाई पनि सम्मान गरिएको हो ।
त्यसैगरी पहिलो पटक क्यू.ए.ए. प्राप्त गरेको बुटवल कालिका क्याम्पसलाई पनि सम्मान गरिएको छ । लुम्बिनी बाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायलाई सम्मान गरिएको हो भने बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
त्यसैगरी हालै सरुवा भई रुपन्देही आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक सन्तोषसिंह राठौर, ससस्त्र प्रहरी बल २७ नं. गण हेडक्वाटर रुपन्देहीका प्रहरी वरिष्ठ उपरिक्षक मेखराज जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा, राष्ट्रिय अनुसन्धान आयोग उपअनुसन्धान निर्देशक प्रकास आचार्य, आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत हरि बस्याललाई स्वागत गरिएको हो ।


















प्रतिक्रिया