३ चैत्र २०८२, मंगलबार | March 17, 2026

जितियाको निराहार व्रत आज



महोत्तरी । सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।

शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।

शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास-२ ॐ शान्तिचोककी व्रतालु नगिनादेवी महतोको भनाइ छ ।

यो निराहार व्रत भोलि (सोमबार) बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ । जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिन पर्ने व्रत विधान रहेको बर्दिबास-२ का मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झाले बताए ।

पितृपक्ष (सोह्रश्राद्ध) मा पर्ने यस पर्वमा व्रतालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । सोही दिन व्रतालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् ।

योसँगै व्रतालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानीदेवरानी र मातृकूललाई स्मरण गर्दै व्रत पूरा गर्न आशीष र आफ्ना सन्तानको कल्याणका लागि पुकार गर्छन् । सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका व्रतालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।

पर्वको मुख्य दिन आज सबै व्रतालु राजा जिमुतवाहनको कथा सुन्दै छन् । अघि द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक बिधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई ब्युँताएको कथाका आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा थालिएको मैथिल जनविश्वास छ । यो व्रतबारे भविष्य पुराणमा वर्णन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ८ : ३४ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा