काठमाडौं । फिलिपिन्समा गएको ६.९ म्याग्निच्युडको भूकम्पले कम्तीमा २२ जनाको मृत्यु भएको छ । मंगलबार राति सेबु प्रान्तको बोगो सहर नजिकै केन्द्रविन्दु भएर गएको भूकम्पले मध्य फिलिपिन्सलाई हल्लाएको हो ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प स्थानीय समय अनुसार राति ९ः५० बजे आएको थियो । टापुको उत्तरी छेउमा पर्ने बोगो सहर नजिकै ९० हजार मानिसको बसोबास रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ ।
स्थानीय उद्धारकर्मीका अनुसार, बोगोमा मात्र १३ जनाको मृत्यु भएको छ, जसमा चार बालबालिकासमेत रहेका छन् । त्यहाँ तीनजनाको घर पहिरोले पुरिएको थियो । छिमेकी सान रेमिगियो नगरपालिकामा पाँच जनाको र ताबुएलानमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।
सान रेमिगियोको एक खेलकुद केन्द्रमा छत भत्किँदा चार जनाको मृत्यु भएको छ, जसमा तीन जना कोस्टगार्ड सदस्य रहेको अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि हालसम्म ३७९ भन्दा बढी परकम्प आएको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले जनाएको छ ।


















प्रतिक्रिया