१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट



सिरहा । असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका-८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ ।

पीडितका अनुसार नाचगानका क्रममा केहीले मदिरा सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच भनाभन भयो । सुरुमा सामान्य लागेको विवाद यत्तिकै सुल्झिएन । दलित परिवारमा बस्तीबाट उठाइदिने धम्की समेत आयो । धम्की आएपछि दलित परिवार सुरक्षा माग गर्दै इलाका प्रहरी कार्यालय, कल्याणपुर पुगेका थिए ।

प्रहरीले विवाद समाधान गर्न असोज १२ मा छलफल राखेको थियो । तर, त्यस दिन छलफल नभएपछि अर्को छलफल असोज २१ गतेका लागि तोकिएको थियो । उक्त छलफल हुनुअघि अर्थात् असोज १७ गते शुक्रबार दिउँसो करिब २ बजेतिर २०/२५ जनाको समूहले दलित बस्ती तहसनहस पार्यो ।

उक्त समूहले पाँचवटा दलितका घरमा तोडफोड र लुटपाट गरेको पीडित सोभित पासमानले बताए । “तोडफोड र लुटपाटको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुरका केही प्रहरी घटनास्थलमै थिए, तर, कसैले केही बोलेन । उनीहरुले रोक्ने प्रयास पनि गरेनन्, यसले हामीलाई थप भयभित बनायो”, उनले भने ।

पीडितहरूका अनुसार, अशोक पासमानको घरबाट चार आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट खाद्यान्न, रासलाल पासमानको घरबाट खाद्यान्नका साथै चार आना सुन, १० तोला चाँदीका गहना र रु १८ हजार र बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुई आना सुन र रु तीन हजार लुटिएको छ ।

खाना पकाउने भाँडा, लत्ताकपडादेखि बगैंचाबाट आँप, अम्बा, केरा र कागतीका बोटमा पनि क्षति पुर्याइएको छ । पीडित राजकुमार पासमानका अनुसार पाँचवटा परिवारका ३० जनाको परिवार अहिले अलपत्र छ ।

घटना भएको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्मा बस्तीमा पुगे । उनीहरुले स्थलगत अनुगमनपछि पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरेका थिए ।

१३ जनाविरुद्ध जाहेरी

बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोमबार आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका हुन् ।

उनीहरूले वडाध्यक्ष यादव, प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायतका व्यक्तिविरुद्ध तोडफोड, लुटपाट र दुरुत्साहनको आरोप लगाएका छन् ।

वडाध्यक्षसहति तीनजना पक्राउ

प्रहरीले वडाध्यक्ष यादवलाई भीडलाई उक्साएको आरोपमा नियन्त्रणमा लिएको छ । यादवलाई गत शनिबार नै इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट पक्राउ गरी हिरासतमा राखिएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए ।

पीडित परिवारलाई नगरपालिकाको राहत

पीडित परिवारलाई नगरपालिकाले सोमबार राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार २५ किलो चामल, पाँच किलोका दरले दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटालगायतका सामग्री उपलब्ध गराइएको छ ।

पीडित परिवारको आवासका लागि समेत पहल भइरहेको जानकारी दिँदै कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले भनिन्, “उहाँहरूलाई तत्कालका लागि राहत दिएका छौँ, आवासको व्यवस्थापनबारे नगरपालिकामा छलफल भइरहेको छ ।”

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ५२ बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान