१६ श्रावण २०८३, शनिबार | August 1, 2026

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना



सिरहा । सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उनी वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहेका थिए ।

पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी र उनको घरपरिवारका आँखा चार दिनसम्म पनि ओभाएको सकेको छैन । अज्ञात समूहले शनिबार खेतमा रहेको कुन्यूमा आगजनी गरेपछि विपन्न मुसहर परिवारमाथि बज्रपात परेको छ ।

करिब १४ क्विन्टल धान जलेर खरानी भएपछि सदाय परिवारको वर्षभरिको अन्नको जोहो गर्ने सपना पनि खरानी भएको छ । मानो रोपेर मुरी उब्जाएको त्यो अन्नसँग वर्षभरि पेट पाल्ने आशा पनि थियो । खडेरीका बेला अतिरिक्त पैसा तिरेर सिँचाइ गरी दुई दिन लगाएर छोरा-बुहारीसहित काटेको धान भित्र्याउन नपाउँदै मध्यरातमा कसैले आगो लगाएपछि धानसँगै यो परिवारको सपना पनि जलेको हो ।

“खडेरीका बेला अतिरिक्त रकम तिरेर छिमेकीको बोरिङबाट सिँचाइ गरेँ। दुःख गरेर रोपेको धान भित्र्याउन नपाउँदै एकैरातमा खरानी बनाइयो”, एकछिन आवाज अवरुद्ध गर्दै सदायले भने, “अब हामी के खाएर बस्ने ? हामीले कसको के बिगारेका थियौँ र ? गरिबको हातले उब्जाएको अन्नको के दोष थियो ? नाति, छोराबुहारीसहित पाँच जनाले वर्षदिन खाने अन्न नै जलाइदिएर हामी गरिबमाथि ठूलो अन्याय गरे ।”

सदायकी श्रीमती भुल्लीदेवी सदायका अनुसार १३० वटा बोझा (बिटा) बनाएर त्रिपाल बिछ्याई धानको कुन्यू लगाइएको थियो । आठ कट्ठा खेतको करिब १६ क्विन्टल धान भित्र्याउन नपाउँदै जलेर नष्ट भएको हो ।

बाबुआमासँग बस्दै आएका कान्छा छोरा लाले सदाय पनि दुःख गरेर फलाएको धान भित्र्याउन नपाउँदै शत्रु लागेको बताउँछन् । “साँझ पर्न लागेकाले कुन्यू बनाएर १३० बोझा राखेका थियौँ । भोलिपल्ट बोरामा हालेर घर ल्याउने तयारी थियो, तर बिहान पुग्दा एक गेडा धान पनि बाँकी रहेन । मान्छेले कसरी यस्तो गर्न सक्छ ? यो प्रश्नले रात-दिन सताइरहेको छ”, उनले भने,“त्यो १६ क्विन्टल धान अन्न मात्र थिएन, त्योसँग वर्षभरिको पराल, गुइँठा, चामल, चाडपर्व, छोरोको शैक्षिक खर्च जस्ता थुप्रै योजनाहरू जोडिएका थिए ।”

सदाय परिवारले आगलागी भएको कुन्यू नजिकै मदिरा पसल चलाउने आशाकुमार रायसहित अन्य केही व्यक्तिविरुद्ध भोलिपल्टै प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार स्थानीय प्रहरी टोलीले घटनास्थलमा पुगेर कागजी प्रमाणसहित सूक्ष्म अनुसन्धान गरिरहेको छ । “धनगढीमाईस्थित इलाका प्रहरी कार्यालयमा कुर्वा गाउँका आशङ्का गरिएका पाँच जनालाई बोलाई सोधपुछ गरिएको छ र उनीहरूलाई दैनिक हाजिरीमा राखिएको छ”, उनले भने ।

धनगढीमाई-३ का वडाध्यक्ष वीरेन्द्रकुमार साह विपन्न मुसहर परिवारले उब्जाएको धानमा गरिएको आगजनीलाई अक्षम्य अपराध भएको बताउँछन् ।

वडाध्यक्ष साहका अनुसार नगरप्रमुख शिव शङ्कर महतोसहितको टोलीले घटनाको भोलिपल्ट घटनास्थल निरीक्षण गरेको थियो । त्यस क्रममा नगरप्रमुख महतोले पीडितलाई उचित राहत उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सदाय परिवारले पनि यो पीडालाई केवल अन्न जलन मात्र होइन, विपन्नतामाथि भएको निर्मम प्रहारको रूपमा लिएको छ । यो परिवार घटनामा जोडिएका व्यक्तिलाई कारबाही, सम्बन्धित निकायबाट तत्काल राहत र न्यायको पर्खाइमा छ । सुदिप राउत/रासस

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ८ : १५ बजे

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न