काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमालेले आज प्रारम्भ भएको बैठक असोज ३१ गतेसम्म निरन्तर सञ्चालन हुने जनाएको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, बैठकले पार्टीको ११औँ महाधिवेशनको मिति र स्थान टुंग्याउने मुख्य एजेन्डा तय गरेको छ । पार्टीले आगामी मंसिरको तेस्रो साता महाधिवेशन गर्ने तयारी गरेको छ । यसअघि आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने प्रारम्भिक निर्णय गरेको थियो ।
जेनजी आन्दोलनपछि एमालेभित्र पार्टी पुनर्गठनको विषय तीव्र रूपमा उठ्दै आएको छ । यसै सन्दर्भमा शुक्रबार बसेको सचिवालय बैठकमा पनि नेताहरूबीच पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे बहस चलेको थियो ।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै राजीनामा दिन सुझाव दिएका थिए । सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट पनि ओलीको राजीनामाको पक्षमा देखिएका थिए ।
तर, अध्यक्ष ओली भने तत्काल पद त्याग्ने पक्षमा छैनन् । उनका नजिकका नेताहरूका अनुसार, ओली कार्यवाहक अध्यक्ष तोक्ने भन्दा पनि छिट्टै महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने पक्षमा रहेका छन् ।
आज सुरु भएको केन्द्रीय कमिटी बैठकमा यी सबै राजनीतिक विवाद, पार्टी पुनर्गठन र आगामी महाधिवेशनको तयारीबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया