२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो



महोत्तरी । तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले बनेका नयाँ छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पङ्खालगायत सामान अपरिहार्य हुने मैथिल चलनले अहिले यहाँका सबैजसो हटिया (बजार)मा यी सामग्रीको बजार जमेको हो ।

महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टीसहितका बजारमा अचेल सधैँ यी सामान बिक्री भइरहेका छन् ।

मिथिलामा बिन र डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा बनाउने पुख्र्यौली पेसा मानिन्छ । पर्वविशेषले यस्ता सामग्रीको माग बढ्दा अहिले काम भ्याइनभ्याइ भएको भङ्गाहा-४ रामनगरका ५० वर्षीय काशी मुखिया बिन बताउँछन ।

“अरु बेला यी सामान बिक्दैनन्, प्लाष्टिकका सामान प्रयोग बढ्यो । दीपावली र छठमा बाँसकै भाँडा चाहिने चलनले माग बढेको हो”, काशी भन्छन, “बाबुबाजेले सिकाएका काम हुनाले मेरो पुस्तासम्मले गर्दैछौँ, छोरा-भतिजाले भने यो काम सिक्न ध्यान दिएनन् ।” पहिलेपहिले दैनिक प्रयोजनमै यी सामान चलाइने हुँदा बाबुबाजेले यही पेसाबाट गुजारा गरे पनि अब भने यसको माग दीपावली र छठमा मात्र हुने गरेको उहाँको भनाइ छ ।

पर्वविशेषको मागमात्र हुने भए पनि यसबेला यी सामान बनाएर बेचिएको पैसाले झण्डै तीन-चार महिनाको गुजारा चल्ने गरेको बिन र डोम समुदायका पाका व्यक्ति बताउँछन् । “यसैबेला कमाएको नगदले आवश्यकता पूरा गर्छौँ”, छिटीसहितका यी सामान बेच्न गौशालाबजार पुगेकी बर्दिबास-१ की पारो मरिक (डोम)ले भनिन, “यही पर्वको कमाइले केही महिनाको गुजारा र धियापुता (घरका ससाना नानीहरु)को खाने, खेल्ने रहर पूरा गर्छौँ ।”

पर्वले गर्दा बाँस खोज्न जाने, फटाउने (चिर्ने), चोया र कप्टेरा बनाउने तथा मागअनुसारका सामान बनाउन भ्याइनभ्याइ छ । बनिसकेका सामान बजार पुर्याउनसम्मका काम सकेपछि बल्ल केही नगद हात पर्ने गरेको जलेश्वर-१ का रतन मरिकले बताए । सीप भएका बिन र डोम अहिले दिनरात नभनी काममा छन् । यो क्रम छठपर्व सुरु हुने दिनसम्म चल्छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : १६ बजे

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी