११ भदौ २०८३, बिहिबार | August 27, 2026

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी



बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ ।

भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको तीन दिने पदयात्रा सकेर फर्किएकी बुटवलकी स्मृति न्यौपानेले तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरेपछि पदयात्राको थकान मेटिएको अनुभव सुनाइन् ।

“यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उनले भनिन्, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फुर्ति आयो ।” तातोपानीमा शरीर डुबाएर स्नान गरेकाहरूले शारीरिक स्फूर्ति बढेको, थकान मेटिएको, चोट पटकको दुखाइ कम भएको, सुन्निएको, बज्रिएको समस्या निको भएको अनुभव सुनाउँछन् ।

चिसो हावापानीबाट आएकाहरू तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । पर्यटकीय यामको सुरुआतसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरूको पनि सङ्ख्यामा वृद्धि भएको कुण्डका सञ्चालक जीतेन्द्र चोचाङ्गी पुनले बताए ।

“बर्खा रोकिएर मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउनेहरू पनि बढेका छन्”, उनले भने, “याममा दैनिक ३०० देखि ५०० जनाले स्नान गर्छन् ।” बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरू बनाइएको छ ।

धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ः०० देखि साँझ १०ः०० बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु ५० र विदेशीलाई रु १५० प्रवेश शुल्क तोकिएको छ ।

कुण्डमा प्रवेश शुल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि करबाहेक रु ५० लाख एक हजारमा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८१/८२ रु ५६ लाख २५ हजार ३७ र आर्थिक वर्ष २०८०/०८१ मा रु ५५ लाख ९०० मा ठेक्का लगाएको थियो ।

भुरुङ–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड रहेको छ । तातोपानी कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानीस्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । एक दिनमा पाँच सयभन्दा बढी वास बस्न सक्ने क्षमता छ ।

केही दिनयता होटलहरू भरिभराउ भएका व्यवसायी अमृतमान शेरचनले बताए । यसपालि भुरुङ–तातोपानीमा बास बस्ने आधाभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किएकाहरू रहेका उनले बताए । देशका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटकहरू भुरुङ–तातोपानीमा झर्ने र त्यहाँदेखि जीप चढेर अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको हुमखोला पुगेर पदयात्रा सुरु गर्ने गर्दछन् ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १ : ५६ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ