काठमाडौं । सरकारले गरेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्काको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज (मंगलबार) अधिवक्ता प्रेमराज सिलवालले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्काविरुद्ध रिट दायर गरेका हुन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसमा सरकारले उनीहरुको राहदानी रोक्का र स्थान हदको निर्णय गरेको थियो।
मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन्। रिट निवेदनमा स्थान हद तोकेको निर्णय पनि खारेजीको माग गरिएको छ ।
रिट निवेदनमा सरकारको निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको उल्लेख गरिएको छ । रिटमा उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेश माग गरिएको छ। यो रिट सर्वोच्च प्रशासनले अध्ययनकै क्रममा रहेको जनाएको छ।


















प्रतिक्रिया