काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकबारे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि शुक्रबारका लागि तय गरिएको बैठक महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयबीच सहमति नजुटेपछि स्थगित भएको थियो ।
महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नपाइए बैठकमा सहभागी नहुने चेतावनी दिएपछि कार्यवाहक सभापति खड्काले बैठक स्थगित गरेका थिए ।
यस विवाद समाधानका लागि शनिबार कांग्रेस पदाधिकारी बैठक बसे पनि सहमति जुट्न नसकेको बताइएको छ । आजको केन्द्रीय समिति बैठकअघि कार्यसम्पादन समितिको बैठक बस्ने तयारी पनि गरिएको छ ।
कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान नचाहे पनि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइराला पक्ष भने तत्काल महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
कांग्रेसको वर्तमान कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहँदै आएको छ, तर विधानअनुसार एक वर्ष थप्न सकिने व्यवस्था छ । तर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशनका लागि सानेपास्थित पार्टी कार्यालयमा निवेदन दिइसकेकाले सो दबाबबीच आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।



















प्रतिक्रिया