काठमाडौं । ४० वर्ष मुनिका युवाहरुको नेतृत्वमा रहेको नेपाली कांग्रेस सुधार अभियान नामक समूहले पार्टीको नियमित महाधिवेशनको माग गर्दै आइतबार पार्टी मुख्यालय सानेपामा प्रदर्शन गरेको छ ।
महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित उनीहरूले पार्टी कार्यालय अगाडि नाराबाजी गर्दै मुख्य गेटमा ताला लगाएका छन् ।
प्रदर्शनका क्रममा अभियानका सदस्यहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै पार्टी कार्यालयको मूल गेटसम्म पुगेर तालाबन्दी गरेका हुन् ।
गेट बन्द गरिएपछि उनीहरूले बाहिरै बसेर नारा लगाउँदै विरोध जारी राखे । उनीहरूले “नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस्”, “आम कांग्रेसजन र युवाको भावना नजरअन्दाज नगरियोस्” जस्ता नारा लगाएका थिए ।
महाधिवेशनको मितिका विषयमा पार्टीको संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा २८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि तोकिएको बैठक नबस्दै आजका लागि सारिएको थियो, तर आजको बैठक पनि स्थगित भई मंगलबारका लागि सारिएको छ ।


















प्रतिक्रिया